काठमाडौं, १७ असार । असार १५ को कृषिपर्वका अवसरमा एक स्थानीय महिलाप्रति अशोभनीय र अमर्यादित व्यवहार प्रदर्शन गरेवापत कृषिमन्त्री हरि पराजुलीलाई राजीनामा दिलाउने निष्कर्षमा एमाले नेतृत्ववर्ग पुगेको छ।
आफ्नै पार्टी एमालेका महिला सांसदसहित विभिन्न राजनीतिक दलबाट कृषिमन्त्री पराजुलीको बर्खास्तीको माग हुन थालेपछि उनलाई पदमा राख्नु दल र सरकारकै लागि प्रत्युत्पादक हुने निष्कर्षमा नेताहरु पुगेको एमाले स्रोतले बतायो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसँग नजिक मानिने पराजुलीलाई आन्तरिक समीकरण र भागबन्डाका कारण बचाउन केही कसरत भए पनि अन्तमा उनलाई बचाउन नहुने र नसकिने निष्कर्षमा नेताहरु पुगेका छन् ।
स्रोतका अनुसार बिहीबारै उनलाई राजीनामाका लागि पार्टी नेतृत्वबाट आदेश दिइनेछ र नमानेको खण्डमा बर्खास्त गरिनेछ। उनका सरकारबाट बर्खास्त गरी पार्टीबाटै निकाल्न समेत लबिङ भइरहेको स्रोतको दाबी छ ।
संसदमा एमालेका महिला सभासद्हरुले कृषिमन्त्री पराजुलीले सार्वजनिक स्थानमा महिलासँग अश्लील हर्कत गरेको भन्दै कारबाही गर्न माग गरेका छन्।उनीहरुले कृषिमन्त्रीको हर्कतबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग पनि राखे ।
व्यवस्थापिका संसद्को बुधबारको बैठकमा प्रमुख विपक्षी एमाओवादीका सभासद् जनार्दन शर्माले काठमाडौंको मुलपानीमा मंगलबार आयोजित धान दिवस तथा रोपाइँ कार्यक्रममा प्रमुख अतिथि बनेका कृषिमन्त्री पराजुलीले महिलामाथि गरेको हर्कतले नेपाली जनताको शिर निहुर्याएको बताए, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया