४ कार्तिक २०८३, बुधबार

भारतले किन आठ सय २१ सीमा स्तम्भ गायब बनायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian_ssb_on_nepali_borderसुसरी, १७ असार । पूर्वका आठ जिल्लामा नेपाल र भारतबीच रहेका आठ सय २१ सीमास्तम्भ गायब पारिएका छन्। त्यस क्षेत्रमा जंगेपिलरसहित ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, इलाम, पाँचथर र ताप्लेजुङमा भएका दुई हजार ६ सय २८ सीमास्तम्भमध्ये आठ सय २१ गायब भएका छन्।

पूर्वका विभिन्न जिल्लामा ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको सीमा निगरानीका लागि जिम्मा पाएको सशस्त्र प्रहरीको उच्च स्रोतले उल्लेख गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सरकारले सीमाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिएपछि उसले गरेको अध्ययन र सीमा निरीक्षणका क्रममा भारतले नेपाली भूभाग अतिक्रमण गरी सीमास्तम्भ गायब पारेको सशस्त्र प्रहरीका ती उच्च अधिकृतले नाम नछाप्ने सर्तमा बताए।

अन्नपूर्णलाई प्राप्त जानकारीअनुसार सबैभन्दा बढी सप्तरीका सीमास्तम्भ गायब पारिएका छन्।

सप्तरीका ६ सय ५० सीमास्तम्भमध्ये चार सय १३ गायब छन्। सप्तरीमा एउटा मुख्य सीमास्तम्भ (जंगे पिलर), पाँचवटा सहायक सीमास्तम्भ र २२ साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

सप्तरीकै १३ मुख्य सीमास्तम्भ, २ सय ५० सहायक सीमास्तम्भ र एक सय ५० साना सीमास्तम्भ गायब छन्।

झापा सीमा क्षेत्रका ८ सय ७८ सीमास्तम्भमध्ये २६ वटा मुख्य ९जंगे पिलर० र साना एक सय ९२ गायब छन् भने २ वटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

सिराहा सीमा क्षेत्रका ३ सय ८८ सीमास्तम्भमध्ये एउटा मुख्य र ६६ साना सीमास्तम्भ गायब पारिएका छन्। त्यसमध्ये तीनवटा मुख्य र १२ वटा साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

सुनसरी सीमा क्षेत्रका २ सय ९० सीमास्तम्भमध्ये ४ मुख्य, २२ सहायक र २० साना गायब छन्।

मोरङ सीमा क्षेत्रका एक सय २४ सीमास्तम्भमध्ये ३ मुख्य, ४ सहायक र २९ साना गायब छन्। मोरङको सीमा क्षेत्रमा पर्ने एउटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

इलाम सीमा क्षेत्रका एक सय ४६ सीमास्तम्भमध्ये एउटा मुख्य, १३ सहायक र २५ साना गायब पारिएका छन्। पाँचथरमा पर्ने ९४ सीमास्तम्भमध्ये ८ मुख्य, एउटा सहायक र ८३ साना गायब पारिएको पत्ता लागेको छ।

चीन र भारत दुवै देशसँग सिमाना जोडिएको ताप्लेजुङमा पर्ने ३७ सीमास्तम्भमध्ये भारत—नेपालतर्फको एउटा सहायक र एउटा सानो गायब छन्।

भारतले जंगे पिलरसहितका सीमास्तम्भ अतिक्रमण गरी नेपाली भूभाग कब्जा गर्दासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्।