काठमाडौं, १७ असार । प्रधानमन्त्री सुशील कोइरालाले नेपालगन्ज नै डुबानमा पर्ने गरी भारतले सीमा क्षेत्रमा बनाएको अग्लो सडकबारे भारतीय राजदूतलाई बोलाएर सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई निर्देशन दिएका छन्।
सोमबार बिहान भएको मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री कोइरालाले यस्तो निर्देशन दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
भूकम्पले चिरा पारेको जमिनमा वर्षायामको पानी पर्दा बाढी र पहिरोको खतरा बढेकाले तत्काल जोखिमका त्यस्ता बस्तीहरू सार्नेबारे छलफल हुँदै गर्दा प्रधानमन्त्री कोइरालाले बाँके जिल्लाका विभिन्न क्षेत्र तथा नेपालगन्ज नगरपालिकासमेत डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भारतले पानीको निकास नै बन्द हुने गरी अग्लो सडक बनाएको प्रसंग उठाएका थिए।
परराष्ट्रमन्त्री पाण्डेले यसबारे भारतीय राजदूतबाट जानकारी भने लिइसकेका छैनन्।
मन्त्री पाण्डेले भने, ‘लक्ष्मणपुर बाँधबाट नेपाललाई हानि पुगेकोबारे हामीले कुरा उठाउँदै आएका छौं। सडक निर्माणका बेला ठाउँठाउँमा निकास राखेर बनाउने कुरा भएको रहेछ तर मैले स्पष्ट रूपमा सबै खुला हुनुपर्छ भनेको छु।’
उनले थपे, ‘यसबारे म कुरा गर्दैछु, केही दिनमै जानकारीमा आउला।’
नेपालगन्ज समाचारदाता सुरेन्द्र काफ्लेका अनुसार भारतले दसगजानजिक बनाएको सडकरूपी बाँधको निर्माणकार्य तत्काल रोक्ने सहमति पालना नगर्दा बाँके जिल्लाको आधा भूभाग डुब्ने भएको हो।
यसले बाँकेको हिरिमिनिया, साइगाउँदेखि नेपालगन्ज नगरसमेत डुबानमा पर्नेछन्।
२०७१ साल माघ अन्त्यमा पोखरामा भएको दुई देशका उच्च अधिकारीको बैठकमा तत्काल निर्माण रोकेर दुवै देशका प्राविधिकको निगरानीमा मात्रै सडक निर्माण गर्ने सहमति भएको थियो । तर भारततर्फबाट यसको पालना नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए।
यही आसार १० र ११ गतेको वर्षाको पानीको बहावलाई दसगजानजिकको त्यो सडकले रोक्दा साइगाउँ र हिरिमिनियाका केही गाउँ डुबानमा परे।
गत वर्ष पनि ती गाउँ डुबानमा परेका थिए। पोखरा बैठकको सहमति भारततर्फबाट कार्यान्वयन नगरी लगातार सडक निर्माण हुनाले बाँकेको आधा भूभाग डुब्ने अवस्था आएको प्रजिअ लेखक बताउँछन्।
‘अहिले स्थानीय स्तरमा बहराइचका डीएमसँग समन्वय गरेर अहिलेको डुबान समस्या त समाधान गरियो तर यो दीर्घकालीन समाधान होइन’, लेखकले भने ।
पोखरा सहमतिविपरीत भारतले सडक भने बनाइरहेको प्रजिअ लेखक बताउँछन्।
भारत सरकारको केन्द्रीय योजनाअनुसार उत्तरप्रदेशको पब्लिक वर्क डिपार्टमेन्टले दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ केन्द्रबिन्दु मानेर सडक निर्माण गरिरहेको छ।
पहिलो चरणको २१ किलोमिटर सडक दसगजाबाट ५ देखि १० मिटर छेउछेउबाट करिब २.५ मिटरदेखि ५ मिटसम्म अग्लो र ३० मिटर चौडाइमा निर्माण भइरहेको छ।
उक्त सडकमा ७ मिटर चौडा पिच गरिने स्रोतले जनायो। लक्ष्मणपुर बाँधको पूर्वतर्फ कटकुइयामा सडक निर्माण थालिएको छ। भारतले उक्त सडकमा कुनै पुल तथा कलबर्ड हालेको छैन।
भारतले बनाएको सडकले रतैया नालाको प्राकृतिक बहाव रोक्नेछ। रतैया नालाबाट नेपालगन्जका ६ वटा नालाको पानी बग्छ। सो नाला रोकिँदा नेपालगन्जसमेत डुबान पर्ने निश्चित छ।















प्रतिक्रिया