काठमाडौं, १५ असार । अमेरिकी पेस्तोल बोकेर सुन लुट्न हिँडेका माओवादीका पूर्व लडाकुसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
सुन लुट्ने योजनामा हतियार बोकेर हिँडेका माओवादी पूर्व लडाकु रोल्पाका जयबहादुर घर्तिसहित चार जना पक्राउ परेका हुन् । जयबहादुरसँगै सुन लुट्ने योजनामा हतियार बोकेका खेम प्रकाश बुढामगर, गणेन्द्र बहादुर घर्ति र गोर्खाका सुमन गरुङ पनि पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये सुमन गुरुङ नेपाली सेनाका भगौडा सिपाही हुन् । जयबहादुर पूर्व लडाकु हुन् । महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार तारकेश्वर नगरपालिका–११ गोलढुंगा स्थित निगालो रेष्टुरेन्टबाट उक्त हतियार र गोली सहित पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले एक थान मेड ईन यूएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली समेत बरामद गरेको छ । उनीहरु बालाजुमा सुन लुट्ने योजनामा हतियार बोकेर हिँडिरहेको बालाजु वृत्तका प्रमुख डीएसपी अर्जुन रानाभाटले बताए ।
डीएसपी भाटका अनुसार उनीहरुले उक्त हतियार भारतबाट खरिद गरेर ल्याएका थिए ।















प्रतिक्रिया