चौतारा, १५ असार । सिन्धुपाल्चोकको हगाम गाविसमा वर्षासँगै गएराति गएको पहिरामा परी एक बालकसहित छजना घाइते भएका छन् ।
पहिरामा परी वडा नं ६ की १९ वर्षीया लखमाया तामाङ, ५८ वर्षीय बुद्धसिंह तामाङ, ५९ वर्षीया साइली तामाङ, २४ वर्षीय भीमलाल तामाङ, छ वर्षीय सन्देश तामाङ र ३३ वर्षीय सञ्जय लामा घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि राजधानी लगिएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा नं ६ र ७ को बीचबाट गएको पहिरोबाट सातवटा अस्थायी टहरा पूर्णरुपमा क्षति भएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आज बिहानदेखि उद्धार कार्यमा जुटिरहेको छ ।
भूकम्पले घर भत्किएपछि ती परिवार अस्थायी टहरामा बस्दै आएका थिए । रासस
















प्रतिक्रिया