विराटनगर, १५ असार । गाउँघरमा धेरै बुहारीको दिनचर्या घरधन्दा र मेलापातमै बित्ने गर्छ। घर बसाउनु, बालबच्चाको हेरचाह गर्नु र गृहस्थ जीवन बिताउनु नै महिलाको कर्तव्य बन्दै आएको अवस्थामा आरतीकुमारी सर्दार भने निक्कै भाग्यमानी देखिइन्।
पति र सासूससुराकै सहयोगले घरको काम भ्याएरै उच्चशिक्षा पढ्दैछिन् अहिले उनी।
मोरङको भौंडाहाकी उनी हरेक बिहान साइकल चढेर झोराहाटस्थित सरस्वती उच्चमावि पुग्छिन्। उनले वाणिज्यशास्त्रमा कक्षा ११ सकिन् र १२ कक्षा पढ्ने तयारीमा रहेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।
‘परिवारबाटै सहयोग भयो’, उनी भन्छिन्, ‘बुहारीले घरको काम छाडेर बिहानै कलेज पढ्न जान्छुभन्दा त हाम्रो समुदायमा धेरैले जिब्रो काढ्छन्। पत्याउँदैनन्, खिसी पनि गर्छन्। म भने भाग्यमानी रहिछु। सधैं समयमै कलेज आउन पाएकी छु।’
झोराहाट ९ की सविना माझी पनि उस्तै बुहारी हुन्। घरजम भए पनि उनले राम्रैसँग कलेज गएर पढ्न पाएकी छन्।
‘नत्र विवाहपछि पढ्न पाइन्छ कि पाइँदैन, के ठेगान हुन्छ र ?’ माझीले भनिन्, ‘विवाहपछि पढ्न नपाइएला कि भनेर मनमा ठूलो पिर परेको थियो तर परिवारकै हौसलाले पढ्न पाइएको छ।’
भोजपुरबाट मोरङमा विवाह भएपछि ‘अब के पढ्न पाइएला ? भन्ने लागेको थियो नीरमाया कोइरालालाई पनि। तर घरधन्दा भ्याएरै उनी कक्षा लिइरहेकी छन्।
उनले भनिन्, ‘धेरै ठूलो परिवारमा त अझ समस्या हुन्छ तर गाउँमै उच्चमावि खुलेकाले हामीले घरजम गरेर, बालबच्चा हेरेर र सासूससुराको पनि मन रिझाएर पढ्न पाएका छौं।’
झापा र मोरङका ग्रामीण क्षेत्रमा अवस्थित उच्चमाविहरूका धेरै विद्यार्थी बुहारीहरू छन्।
सरस्वती उच्चमाविका प्राचार्य अशोक लुइँटेल भन्छन्, ‘बुहारीहरूले नै गाउँघरका धेरै उच्चमाविको पढाइ टिकाएका छन्।’
गाउँमा उच्चमावि खुल्दा बुहारीलाई पनि पढाउनुपर्ने रहेछ भन्ने जनचेतना बढिरहेको छ।
झोराहाटमा पाँच वर्षअघि उमावि खुलेपछि ६ वटा शैक्षिक सत्रबाट उत्तीर्ण हुने बुहारी नै अधिक रहेको लुइँटेल बताउँछन्।















प्रतिक्रिया