४ कार्तिक २०८३, बुधबार

तीनवर्षे कार्यकालमा १ सय २८ दिन विदेश सयर, भारत पुगरे सुटुक्क फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gauravकाठमाडौं, १५ असार । प्रधानसेनापति गौरवशमशेर जबरा सुटुक्क भारत भ्रमण गरेर फर्किएका छन् । कायममुकायम प्रधानसेनापतिसमेत नतोकी शुक्रबार भारत गएका जबरा सोमबार फर्किएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

प्रधानसेनापति बनेयता उनी तीन औपचारिकसहित पाँच पटक भारत भ्रमणमा गइसकेका छन् ।

सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले प्रधानसेनापति जबरा बिदा लिएर व्यक्तिगत भ्रमणमा गएको बताए । व्यक्तिगत भ्रमणमा गएकाले कायममुकायम प्रधानसेनापति नतोकिएको उनको भनाइ छ ।

जबरा प्रधानसेनापति बनेको ३ महिनापछि पारिवारिक भेटघाटका लागि २०६९ मंसिर १०–१९ सम्म भारत भ्रमणमा गएका थिए । प्रधानसेनापति जबराको ससुराली र मावली पनि भारतमै छ ।

जबराका छोरीज्वाइँ कलिकेश नारायणसिंह देव यसअघिको लोकसभामा भारतको उडिसाबाट निर्वाचित सदस्य थिए ।

विगतमा विशेष परिस्थितिबाहेक दुवै मुलुकका सेना प्रमुखहरूले आफ्नो कार्यकालमा एक पटकमात्रै एक–अर्को मुलुकको भ्रमण गर्ने गर्थे ।

पारिवारिक भ्रमण सकेर फर्केको एक महिनापछि नै २०६९ पुसमा उनले आठ दिन लामो औपचारिक भारत भ्रमण गरेका थिए ।

सोही बेला भारतीय राष्ट्रपति प्रवण मुखर्जीले जबरालाई भारतीय सेनाको मानार्थ सेनापतिको उपाधि दिएका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनमा सेना परिचालनको सरकारी निर्णयसँगै जबराले २०७० असोज १३ देखि १९ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए ।

त्यसपछि २०७१ जेठ २७ देखि असार ३ सम्म उनले भारतको भ्रमण गरे ।

जबराको कार्यकालमा भारतबाट पनि त्यहाँका सेना प्रमुखले तीन पटक नेपाल भ्रमण गरेका छन् ।

जबराले आफ्नो कार्यकालमा १९ पटक विदेश भ्रमण गरेका छन् । २०६९ भदौ २५ मा प्रधानसेनापति बनेका जबराले भ्रमणका क्रममा ४ महिनाभन्दा बढी कुल १ सय २८ दिन विदेशमा बिताएका छन् ।

जबरा गत वैशाख १२ गते १० दिने पाकिस्तान भ्रमणमा निस्कँदै थिए, तर सोही दिन आएको विनाशकारी महाभूकम्पका कारण उनको भ्रमण रद्द भयो ।