काठमाडौं, १४ असार । भूकम्प पीडितको सहयोगार्थ महेन्द्रनगर नगर विकास समितिले प्रधानमन्त्री उद्दार तथा राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
नगरविकास समितिको टोलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकम हस्तान्तरण गरेको छ । सहयोग ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राहत रकम दुरुपयोग नहुने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो–‘तपाईहरुको राहत सहयोग पीडितले पाउँछन्, देश पुनर्निर्माणमा खर्च हुन्छ, यसमा तपाईहरु ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्री कोइरालालाई महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्ट, पूर्वमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडू, कञ्चनपुर क्षेत्र नम्बर ३ का सभासद् बहादुरसिंह थापा, कांग्रेस दार्चुलाका सभापति भानदेव बडू, नगर विकास समिति सदस्य कृष्ण पाठक र नरेश ओझाले संयुक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।
नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्टले राष्ट्रलाई विपत्ति परेका केही राहत पुगोस भनेर प्रधानमन्त्री राहत कोषमा समितिले सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘राष्ट्रलाई विपत्ति परेका बेला सुदूरपश्चिम जस्तो विकट ठाउँबाट आएर पनि पाँच लाख सहयोग ग¥यौं, यो हाम्रो कर्तव्य नै हो ।’
















प्रतिक्रिया