तपाईंलाई त पार्टीले फिर्ता बोलायो भन्ने खबर छ नि ?
त्यो जानकारी मलाई छैन । फिर्ता गर्नुपर्ने कुनै आधार र कारण पनि देख्दिन । तर, पत्रिकामा हल्ला आइरहेको छ, त्यो कहाँबाट आयो त्यो म बुझ्दिन ।
नेकपा एमालेबाट औपचारिक रुपमा केही भनिएको छैन । अध्यक्ष कमरेड (केपी शर्मा ओली) सँग कुराकानी भएको थियो, उहाँले पनि फिर्ता बोलाउने आशय व्यक्त गर्नुभएको छैन ।
के भन्नुभएको थियो त अध्यक्षले ?
मैले सदस्य सचिव बनाउने विषयमा पहिल्यै उहाँसँग लामो कुराकानी गरेको थिएँ । मैले मेरो कुरा राखेको थिएँ । उहाँले बिचार गरेर गर्नु भन्नुभएको थियो, सल्लाह गरौँला पनि भन्नु भएको थियो ।
तर, मैले खास परिस्थितिमा सदस्यसचिवको निर्णय गरेँ । यसै विषयमा अध्यक्षले ‘इन्क्वायरी’ गर्नुभएको हो । सल्लाहसुझाव दिनु भएको हो । ‘हतार गर्नुभयो, राम्रोसँग गरेको भए हुन्थ्यो’ भन्नुभयो ।
अध्यक्षले बोलाएको भन्ने हल्ला सुनेको छ, अध्यक्षसँग मैले भेट गर्दा तपाईँलाई फिर्ता बोलाएँ भन्नु भएको छैन । अध्यक्ष केपी ओलीले मेरो सबैभन्दा माया लाग्ने मन्त्री तपाईँ नै हो भन्नुहुन्छ । कस्लाई कहाँ, केमा चित्त बुझेको छैन, यो उसैले चलाएको हल्ला हो ।
तर, तपाईंले त पार्टीको निर्णय विपरीत नियुक्ति गर्नुभएको आरोप लागेको छ नि ?
पार्टीको निर्णय भनेर मलाई कुनै निर्णय र नाम आएको छैन । मैले नेता कमरेडहरुलाई केशव विष्टजीको विषयमा प्रस्ताव गरेको थिएँ, अर्को नाम आएन । त्यसपछि मैले उहाँलाई नियुक्त गरेँ ।
केशवजी नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका कार्यबाहक अध्यक्ष हुनुहुन्छ । खेलकुद महासंघ भनेको एमालेका तर्फबाट नेपालको खेलकुद सम्बन्धी नीति र कार्यक्रम बनाउन स्थापित संगठन हो । त्यही संगठनको कार्यबाहक अध्यक्षलाई मैले सदस्यसचिव बनाएको छु । त्यो त त्यो सकारात्मक कुरा हैन् र ?
किन विरोध भयो त ?
सदस्य सचिवका दाबेदार धेरै थिए । कतिपय मानिस खेलकुद परिषद्लाई व्यापार बनाउन चाहन्थे । कतिपय मानिस आफ्नो क्रिडाथलो बनाउन चाहन्थे । कतिपय राम्रैमान्छे पनि यसमा आउन चाहन्थे । चाहना राख्ने मानिस धेरै भए । स्वभाविक ढंगले एकजना मानिस नियुक्त भएपछि बहस, विवाद हुनै नै भयो । तर, जे भयो त्यसलाई स्वभाविक ढंगबाट लिएको भए हुन्थ्यो । जसरी प्रश्नचिन्ह लगाउने काम भएको छ । यो आवश्यक थिएन ।
विष्टजीमाथि अनेक आरोप पनि रहेछ, उहाँको विकल्प एमालेमा अरु थिएनन ?
त्यस्तै कुनै विवाद छैन । एसियाली खेलकुदका क्रममा दक्षिण कोरियामा खेलाडी भगाएको आरोप लगाएका छन्, त्यो सरासर गलत हो । अन्तर्राष्ट्रिय खेलकुदमा गएको खेलाडी आफै भागेको हो । विष्टजीले नै किन भगाउनुहुन्थ्यो ? यसअघि पनि थुप्रै खेलाडी विदेशमै लुकेका उदाहरण छन् । मानिस भागेको विषयलाई लिएर विष्टजीलाई दोष लगाउन मिल्ने अबस्था छैन ।
कारबाहीका कुरा पनि कतिपयले उठाएका छन् । त्यतिबेला एसियाली खेलकुद तयारी समितिको अध्यक्ष म स्वयम् थिएँ । मेरो नेतृत्वको समितिले भाग्ने खेलाडीलाई पाँच बर्ष प्रतिबन्ध लगाउने सिफारिस गरेको थियो । त्यो खेलका कोच, टिम मेनेजर र सम्बन्धित खेलको संघका प्रतिनिधिलाई सचेत गराउने काम भएको थियो । कोच र टिम मेनेजरलाई पनि विदेशका खेलमा छ महिनासम्म नेतृत्व गर्न नपाउने कारबाही सिफारिस भएको थियो । तर, त्यो सिफारिस कार्यान्वयन नै भएन । त्यो सिफारिसको कार्यान्वयन खेलकुद परिषदको बैठकले गर्नुपर्दथ्यो । अहिलेसम्म बैठक नै भएन । बैठक नभएपछि अनुमोदन हुने कुरै भएन । त्यसपछि त्यो निर्णय स्वतः निस्क्रिय भयो । त्यस्तो विषयलाई लिएर बहस, विवाद र आरोप खडा गर्नुको जरुरत देख्दिन ।
त्यसो भए तपाईँ फिर्ता नहुने ?
फिर्ता बोलाएको नै छैन त कसरी फिर्ता हुने ? अहिलेसम्म हल्ला मात्रै आएको हो । मलाई पार्टीको स्थायी कमिटीले निर्णय गरेर मन्त्री बनाएको हो । पार्टीले निर्णय गरेर फिर्ता बोलाउँछ भने त हामी सबै फिर्ता हुन तयार छौँ । हामी त पार्टीका खेताला हौँ । अह्रयाउनेले फिर्ता बोलाएपछि खेताला फिर्ता भै हाल्छ नि ।
पार्टी अध्यक्षले फिर्ता बोलाएको कुरा छ नि ?
अध्यक्षले बोलाएको भन्ने हल्ला सुनेको छ, अध्यक्षसँग मैले भेट गर्दा तपाईँलाई फिर्ता बोलाएँ भन्नु भएको छैन । अध्यक्ष केपी ओलीले मेरो सबैभन्दा माया लाग्ने मन्त्री तपाईँ नै हो भन्नुहुन्छ । कस्लाई कहाँ, केमा चित्त बुझेको छैन, यो उसैले चलाएको हल्ला हो ।
तपाईँले अटेर पो गर्नुभएको हो कि ?
पार्टीले निर्णय गरेर मन्त्री बनाएपछि निर्णय गरेर नै फिर्ता गर्नुपर्छ । अटेर गर्ने कुरै होइन् ।
प्रस्तुतिः गणेश पाण्डे / दैनिक नेपाल
















प्रतिक्रिया