काठमाडौं, १३ असार । भूकम्पले धराप बनेका नगर क्षेत्रका ठुलठुला संरचनाहरू नभत्काउदा छिमेकीका सुरक्षित साना घरहरुसमेत जोखिममा परेका छन् ।
उपमहानगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब १८ प्रतिशत भवनहरु धराप अवस्थामा (बस्न नमिल्ने) छन् ।
यस्ता धराप भवनहरु भत्काउन उपमहानगरपालिका, सम्बन्धित वडा कार्यालयलगायत जिल्ला प्रशासन कार्यालयमा निवेदनको ओइरो लागेको समाचार कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पाटनका हरिकृष्ण महर्जनले छिमेकीको धराप घरले आफ्नो सानो सुरक्षित घर जोखिममा परेकाले जोखिम संरचना भत्काउन निवेदन दिएको महिनौ दिन बितिसक्दा पनि चासो नदिएको गुनासो गरे ।
‘न घरधनीले भत्काउन चासो दिएको छ न नगरपालिकाले नै,’ उनले भने, ‘जोखिम मोल्दै दैनिक आवातजावत गर्न बाध्य छु ।’
उनका अनुसार भुकम्पले क्षतिग्रस्त नगर क्षेत्रका अधिकांश ठुलठुला संरचनाहरु मापदण्ड विपरितका बनेका हुन् ।
‘तरपनि भत्काउन नगरपालिकाले वेवास्ता गर्दै आइरहेको छ,’ उनले भने ।
उपमहानगरको शहरी विकास महाशाखाका वरिष्ठ इन्जिनियर रूद्रप्रसाद गौतमले उपमहानगरपालिकामा भग्नावशेष पन्छाउन, धराप भवन भत्काउन डोजरलगायतका उपकरण नभएकाले भग्नावशेष हटाउन समस्या भएको बताए ।















प्रतिक्रिया