वासिङटन, १२ असार । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार समलिङ्गी विवाह मुलुकभर कानूनी भएको निर्णय गरेको छ । यसलाई समलिङ्गी समूहले मुलुकभर निकै प्रतिक्षा गरेको निर्णयको रूपमा हेरिएको छ र उनीहरूले मुलुकभर खुसी मनाएका छन् ।
अमेरिकी सर्वोच्च अदालतका नौजना न्यायाधीशमध्ये पाँच पक्ष र चार विपक्ष रही उक्त निर्णय भएको छ र उनीहरूले समलिङ्गी व्यक्तिबीचको विवाहलाई ५० राज्य सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भएको बताएका छन् ।
राष्ट्रपति बराक ओबामाले यस निर्णलाई ‘‘अमेरिकाको बिजयको’’ रूपमा लिनुभएको छ । सर्वोच्च अदालतले एक दिन अगाडि राष्ट्रपति ओबामाको स्वास्थ्य सुधारको व्यवस्थाको विवादास्पद दफालाई कायम राख्ने निर्णय गरेको थियो भने यो निर्णय पनि उहाँकै पक्षमा गएको ठानिएको छ ।
उहाँले ह्वाइट हाउसमा यस निर्णयबाट अमेरिकी सङ्घ अझै बढी राम्रो भएको बताउनुभयो । यसपछि ह्वाइट हाउसमा इन्द्रेणी रङको प्रकाश पारिएको थियो । यस रङलाई समलिङ्गी अधिकारका लागि आन्दोलनको रङको रूपमा हेरिन्छ ।
उहाँले यस निर्णयले अमेरिकी जनताले पहिले नै आफ्नो मुटुमा विश्वास गरेको सबैप्रति समान व्यवहार गरिने छ र आफूहरू बढी स्वतन्त्र भएका छौँ भन्ने धारणालाई पुष्टि गरेको बताउनुभयो ।
सर्वोच्च अदालतको निर्णयले अमेरिकालाई विश्वमा समलिङ्गी विवाहलाई कानुनी रूप दिने २१ मुलुक वा क्षेत्र बनाएको छ ।
यस निर्णयपछि सर्वोच्च अदालतको बाहिरी भागमा समलिङ्गी विवाहका वकिलहरूले अमेरिकी राष्ट्रिय गान गाएका थिए । उक्त भीडमा यस मुद्दाका प्रमुख निवेदक जिम ओबरगेफेल पनि हुनुहुन्थ्यो ।
उहाँले राष्ट्रपति ओबामालाई टेलिफोनमा उहाँ अमेरिकी जनताका लागि ठूलो उदाहरण मात्र नभई मुलुकका लागि ठूलो परिवर्तन ल्याउने व्यक्ति पनि हुनुभएको बताउनुभयो । यस निर्णयलाई मुलुकभर प्रशंसा गरिएको छ ।
यो मुद्दा १४ समलिङ्गी दम्पत्ति तथा ओबरगेलसहित दुई विधवाले मिसिगन, केनटकी, ओहायो तथा टेनिसीविरुद्ध हालेका थिए ।
यी चारै राज्यले आफूले संविधानलाई सम्मान गरे पनि विवाह पुरुष तथा महिलाबीच मेल भएको अडान राखेका थिए ।
अदालते आफ्नो निर्णयमा संविधानको चौँधौँ संशोधनले राज्यलाई समान लिङ्ग भएका दुई व्यक्तिलाई विवाह गर्न अनुमति दिनुपर्ने तथा राज्यबाहिर त्यस प्रकारले विवाह गर्ने व्यक्तिलाई स्वीकार गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरेको छ ।
न्यायाधीश एन्थोनी केनेडीले विवाह प्राचीन समयदेखि समाजको मूल संस्था भएको र कानुन र समाजको विकास हुँदा त्यो अछूत नभएको बताउनुभयो ।
उक्त निर्णयको विपक्षमा प्रधानन्यायाधीश जन रोबर्टस पनि रहनुभएको छ । उहाँले राज्यको निर्वाचित संसदमै यस्तो कुराको निर्णय छोड्नु उचित हुने धारणा व्यक्त गर्नुभएको छ ।
सर्वोच्च अदालतले समलिङ्गी विवाहमा रहेका व्यक्तिलाई अमेरिकी सरकारले दिने फाइदा नदिने व्यवस्था गरेको कानुनलाई खारेज गरेको दुई वर्षपछि यो निर्णय आएको हो ।
यस निर्णयको विरोध पनि आएको छ । परम्परावादी फेमिली रिसर्च काउन्सिलले कुनै पनि अदालतले प्राकृतिक कानुनलाई उल्टाउन नसक्ने दाबी गरेको छ ।
यस्तै धारणा टेक्सासका महान्यायाधीवक्ता केन प्याक्सटोनले व्यक्त गर्नुभएको छ ।
अमेरिकी क्याथोलिक विसपहरूको सम्मेलनले शुक्रबारको निर्णयलाई दुःखद गल्ती मानेको छ । रासस/एएफपी















प्रतिक्रिया