१ कार्तिक २०८३, शनिबार

नेपालको पुनर्निर्माणमा भारतद्वारा दुई खर्बको सहायता घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Opening Ceremony of ICNRकाठमाडौँ, १० असार । भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु दुई खर्ब प्रदान गर्ने घोषणा गरेको छ ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गर्नुभएको हो ।

भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उहाँले महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्बमध्ये रु ६५ अर्ब अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण हुने बताउनुभयो । कुल अनुदान सहायतामध्ये रु ४० अर्ब पाँच वर्षका लागि हो ।

भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स्पष्ट गर्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निर्देशनमा भूकम्पको लगत्तै खोज, उद्धार तथा राहतका लागि ‘मिसन मैत्री’ तत्काल नेपालमा परिचालन हुनु नेपालप्रतिको भारतको प्राथमिकता प्रष्ट हुन्छ भन्नुभयो ।

गत वर्ष दुईपटक भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले भारत र नेपालबीचको सम्बन्धमा उल्लेख्य प्रगति भएको बताउँदै विदेशमन्त्री स्वराजले जलविद्युत् परियोजनाको द्रुत कार्यान्वयन एवम् काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका कामको सुरुवात हुुनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले भारतको सहभागितामा निजगढ विमानस्थल निर्माण कार्यलाई पनि अघि बढाउनुपर्ने र त्यसबाट रोजगारीका नयाँ अवसर, राजस्वमा योगदान र भूकम्पबाट भएको क्षतिको दीर्घकालीन पुनर्लाभमा मद्दत पुग्ने बताउनुभयो । रासस