काठमाडौँ, ९ असार । संविधान मस्यौदा लेखनमा देखिएको विवाद सुल्झाउने बारेमा आज संविधान मस्यौदा समितिअन्तर्गतको उपसमितिका प्रमुखहरु सम्मिलित कार्यदलमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख चार दलका शीर्ष नेताहरुसहितको बैठकले मस्यौदा लेखनका क्रममा सङ्घीयताको सीमाङ्कन, स्थानीय निकायको स्वरुपलगायतका विवादित विषयलाई कसरी टुङ्ग्याउने भन्नेबारे कुराकानी भएको थियो ।
संविधान मस्यौदा लेखन समितिको पूर्ण बैठक बस्नुअघि समितिले विवादित विषयबारे शीर्ष दलको धारणा लिएको हो ।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मस्यौदा लेखनका विवादित विषयमा मस्यौदा समितिसँग छलफल भएको र विवादित विषयलाई मिलाएर लैजान सुझाव दिइएको बताउनुभयो ।
“कार्यदलको बैठकमा उहाँहरु (मस्यौदा लेखन समितिका सदस्य) का तर्फबाट आफ्ना कुरा राख्नुभयो र त्यस सम्बन्धमा हामीले हाम्रा कुराहरु राखिदिएका छौँ अब उहाँहरुले बसेर त्यसलाई टुङ्गो लगाउनुहुन्छ । अर्को कुरा सङ्घीयताका प्रदेशहरुको सीमाङ्कनबारे केही विवाद छ, जसरी हुन्छ, यसलाई सहमतिका साथ टुङ्ग्याउँ भनेर धारणा राखिएको छ” – उहाँले भन्नुभयो ।
संविधानको विस्तृत रुपलाई तयार गरेर मस्यौदा समितिको पूर्ण बैठकमा लैजानुभन्दा अगाडि भएका प्रगति र थप गर्नुपर्ने विषयमा छलफल भएको नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “अहिलेसम्मको अवधिमा के कति प्रगति भए, के–के विषयलाई कुन कुन तहमा छलफल गर्नुपर्ने आवश्यकता हुन्छ, निक्र्योल गरी छिटोभन्दा छिटो र हाम्रो निर्धारित समयमा मस्यौदाको कामलाई अगाडि बढाउने भन्ने सहमति भएको छ ।”
उहाँका अनुसार आजै हुने कार्यदलको बैठकमा हामीले यस अविधिमा गरेका छलफलबाट सचिवालयलाई पुर्न मस्यौदा गर्नका लागि भनेका छौँ त्यसपछि आजै हुने मस्यौदा समितिको पूर्ण बैठकमा पेस हुनेछ ।
दलहरुबीच गत वैशाख २५ गते भएको १६ बुँदे सहमतिअनुरुप उठेका विवादित विषयमा सकारात्मक ढङ्गले सहमति खोज्नेतर्फ प्रमुख दलहरु लागिपरेको एमाले उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।
बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, संविधान लेखन मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक गिरिराजमणि पोखरेल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र महासचिव जीतेन्द्र देव सहभागी हुनुहुन्थ्यो । संविधान मस्यौदा लेखन कार्यदलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । रासस













प्रतिक्रिया