३० आश्विन २०८३, शुक्रबार

बेनी-जोमसोम सडकमा एक महिनापछि सिधा सवारी सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jomsomम्याग्दी, ९ असार । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्डमा एक महिनापछि सिधा सवारी सुचारु भएको छ ।

म्याग्दीको राम्चे–९ काफलडाँडामा गत जेठ १० गते खसेको भीषण पहिरोले बैसरीमा पुरिएको सडक मर्मत गरेपछि आजदेखि सिधा सवारी सञ्चालन भएको हो ।

पहिरो र कालीगण्डकी नदीको कटानले क्षति पु¥याएको करिब तीन किलोमिटर क्षेत्रमा नयाँ ट्र्याक निर्माण र सडक मर्मत गरेपछि आजदेखि सिधा सवारी सञ्चालन भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष सुरत केसीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय बाग्लुङले झन्डै तीन सातासम्म सडक मर्मत गरेपछि अवरुद्ध सडक सञ्चालन भएको हो । बैसरीमा खसेको पहिरोले बस्ती पुरिएसँगै करिब एक किमि सडक पूर्णरुपमा पुरेको थियो भने पहिरोले थुनिएको कालीगण्डकीको बाँध फुटेपछि आएको बाढीले समेत सडकलाई कटान गरेको थियो ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएपछि सर्वसाधारण र पर्यटकलाई राहत पुगेको छ । रासस