काठमाडौं, ६ असार । विश्व खाद्य कार्यक्रमले भूकम्पपीडितलाई कुहिएको चामल वितरण गरेको विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो देखाउँदै चामल वितरणमा संलग्न संस्थामाथि गरिएको कारबाही विवरण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
विश्व खाद्य कार्यक्रमले बाँडेको चामल पटक–पटक गुणस्तरहीन पाइएपछि आयोगले सरकारसँग सो विषयमा भएको कारबाहीको जानकारी उपलब्ध गराउन निर्देशन दिएको राजधानी दैनिकले समाचार छापेको छ ।
पहिलो पटक काभ्रेमा विश्व खाद्य कार्यक्रमको सहयोगमा रेडक्रसले बाँडेको चामल अखाद्य पाइएपछि आयोगले चासो देखाउँदै सरकारलाई कारबाही गर्न निर्देशन दिएको थियो ।
पछिल्लो समय गोरखामा पुनः कुहिएको चामल वितरण गरेको पाइएपछि आयोगले सरकारलाई जानकारी उपलब्ध गराउन निर्देशन दिएको हो ।
भूकम्पपछि विश्व खाद्य कार्यक्रमले भूकम्पपीडितलाई राहतको रूपमा वितरण गरेको चामल काभ्रे, चितवन र गोरखामा अखाद्य पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन गरी कारबाही अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सरकारले छानबिनका लागि गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मा दिएको जानकारी आयोगलाई दिएको कायममुकायम सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले निर्देशन दिए पनि सम्बन्धित निकायबाट के हुँदै छ भन्ने कुरा नआएको उनको भनाइ छ ।















प्रतिक्रिया