३० आश्विन २०८३, शुक्रबार

हृदयाघात भएर एमाले नेताको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Babu-ram-Chaudhary

– अमृत गिरी

बुटवल, १ असार । नेकपा एमाले रुपन्देहीका नेता बाबुराम चौधरीको निधन भएको छ ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य, एमाले रुपन्देहीका पूर्वउपाध्यक्ष तथा थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष समेत रहेका नेता चौधरीको ६१ वर्षको उमेरमा मंगलबार दिउँसो भैरहवास्थित मेडिकल कलेजमा निधन भएको हो । हृदयाघातका कारण उनको निधन भएको एमाले रुपन्देहीका सचिव तुलसी चौधरीले जानकारी दिए ।

विक्रम सम्वत २०२७ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका चौधरी त्यसयता निरन्तर पार्टीमा क्रियाशिल थिए । मधवलिया गाविस–८, मधवलीका बासिन्दा चौधरी थारु समुदायबाट कम्युनिष्ट पार्टीमा होमिएका एक जना लोकप्रिय नेता मानिन्छन् । उनी त्यस गाविसमा निर्वाचित अध्यक्षसमेत भएका थिए ।

सुरुमा शिक्षक पेशामा रहेकै बेलामा उनी कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए । ०४९ सालमा मधवलियाकै स्कुलमा शिक्षक रहेका बेला त्यसबाट राजिनामा दिएर उनी सक्रिय राजनीतिमा होमिएका थिए । त्यसैबर्ष उनी मधबलिया गाविसमा एमालेका तर्फबाट गाविसको अध्यक्षमा निर्वाचित भए । एमालेको जिल्ला कमिटिका उपसचिव, उपाध्यक्ष भइसकेका थिए ।

उनी ०६४ को संविधान सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ बाट उम्मेदवार पनि भएका थिए । त्यसमा उनी झिनो मतले पराजित भए । नेता चौधरीका दुई पत्नी मालती, विना सिंह चौधरी, तीन छोरा विन्दु, केशव, कृष्ण र दुई छोरी अनिता र टिका छन् । छोराछोरी सबैको विवाह भइसकेको छ ।

पार्टीका सेल्टरदाता

चौधरीको परिवारले सुरुमा कम्युनिष्ट पार्टीका नेताहरुलाई सेल्टर दिँदै आएको थियो । यस क्षेत्रमा भूमिगतकालमा खटिएका कम्युनिष्ट पार्टीका प्रायः नेताहरुले उनको घरमा सेल्टर लिएका थिए । ०२६÷०२७ सालतिरै बुबा रक्तार र आमा लक्ष्मीदेवी थारुले पार्टीका नेताहरुलाई सेल्टरमा राखेका बेला देखिनै बाबुरामलाई पार्टीप्रति आस्था जागेको थियो । सोहीबेला देखि उनी पार्टीमा आबद्ध भएका थिए । उनको ससुराली पनि कम्युनिष्ट पार्टीका नेताहरुका लागि सेल्टर बनेकाले बाबुरामलाई कम्युनिष्टमा आस्था बढेको थियो ।

जातीय राजनीतिका विरोधी

नेता चौधरी थारु समुदायबाट लोकप्रिय नेताका रुपमा स्थापित भएका थिए । उनलाई यस क्षेत्रका एमालेका नेता कार्यकर्ताहरुले मिजासिला र सबैलाई मिलाएर अगाडि बढ्न सक्ने नेताका रुपमा लिन्छन् । उनीसंगै जिल्ला कमिटिमा काम गरेका एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरी चौधरीलाई एउटा मिजासिलो शान्त स्वभाबको कुसल संगठक मान्छन् । पार्टीले एउटा नक्षत्र गुमाएको बताउँदै नेता गिरीले जातीय राजनीतिको विपक्ष र सामाजिक सद्भाबको पक्षमा खुलेर लागेकाले पनि चौधरीलाई यस क्षेत्रका नेता कार्यकर्ताहरुले प्रशंसा गर्ने गर्थे ।
चौधरीलाई राजनीतिक सहकार्यमा साथ दिने अर्का नेता एमाले लुम्बिनी अञ्चल समन्वय कमिटीका कार्यालय सचिव गोपाल भट्टराई चौधरीलाई जस्तो सुकै संकट आइपरेका बेलमा पनि नआत्तिकन समाधानका उपाय खोज्ने र संगठनका काममा निरन्तर खटिने स्वभावका नेताका रुपमा सम्झिन्छन् ।

पार्टीलाई क्षति

चौधरीको निधनले पार्टीलाई अपुरणिय क्षति पु¥याएको एमाले रुपन्देहीको ठहर छ । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले मंगलबारै एक शोक विज्ञप्ति जारी गरी नेता चौधरीको निधनले पार्टीलाई स्तव्ध बनाएको बताएका छन् । लोकप्रिय नेताको अवसानले पार्टीलाई अपुरणिय क्षति पुराएको एमालेले बताएको छ ।