३० आश्विन २०८३, शुक्रबार

अमेरिका पुगेर नेपाली धनी हुने कारण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay 2– विजय थापा

धनको डकार कहिले पनि आउँदैन । यहि धनको लागि मानिसले जे पनि गर्छ । धनको लागि दिन रात मानिस पछि लाग्दछन । र बिश्वमा जोगी र केहि अपबाद बाहेक सबै जना द्रब्य कै पछाडी कुदी रहेका हुन्छन ।

नदौडी पनि नहुने, मुद्रा नहुँदा जीवन अन्धकारमय पनि हुन्छ । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ नेपाली उखान । कमाउनु पनि पर्छ । यसको कुनै सिमा हुँदैन, जति कमायो त्यति नै तृष्णा हुन्छ । धनको पछाडी नलाग्ने बेबकुफ हुन्छ । परिवार, सामाजिक प्रतिष्ठा, ईज्जत तथा समुदायको लागि कमाउनु अपरिहार्य हुन्छ । जीवनको चक्र चलाउन कमाउनु पनिपर्छ । विश्वको सबैभन्दा गरिबको चर्चा हुँदैन तर बिश्व कै सबैभन्दा धनी को भन्दा बिल गेट्स सबैले चिन्दछन । उसैको सामाजिक प्रतिष्ठा छ र ईज्जत । जसले जे भनेता पनि मुद्रा कमाउँदै जाति ।

कमाउनु धेरै बाटा हुन्छन, सहि र गलत । कुत सम्पत्ति कमाए ठिक । अकुत सम्पत्ति कमाए कानुनी घेरामा पर्ने सम्भावना हुन्छ । यहि मुद्राको लोभले मानिस बिग्रिन्छन । मानिसले पापी पेटको लागि अनेकौ चाहिने र नचाहिने काम गर्न बाध्य हुन्छन ।

नेपालीहरु अमेरिकामा झन्डै ३ लाखको हाराहारीमा भएको अनुमान गरिएको छ । सपनाको संसार अमेरिका आउनुको एउटा मात्र उद्देश्य आर्थिक सम्पन्न हुनु हो । धन कमाई परिवार र आफू सम्वृद्धि बन्नु हो । यस बाहेक मानिस आफ्ना पिढीहरुका लागि भबिष्य निर्माण गर्न अमेरिका आएका हुन्छन ।

देशको मडारिएको राजनीतिक अस्थिरता, अन्यौल, बेरोजगारी, असुरक्षा आदि ईत्यादीको कारण पलायन ह्वात्तै बढेको छ भने संसार कै सबै भन्दा समृद्धिशाली राष्ट्र अमेरिकामा खुट्टा टेक्न पाउनु नै सबै भन्दा ठुलो सौभाग्य हुन्छ ।

यहि क्रममा हजारौ नेपालीहरु अमेरिका आई पुगेका छन् । अमेरिकामा बसी र यहि कमाई गरेर नेपालमा १ तला देखि ७ तला सम्म घर बनाउछन ।

अमेरिकामा ३ प्रकारका नेपाली समुदाय भेटिन्छन, पहिलो नेपाल सदाको लागि छोडेर अमेरिका मै बस्ने । अमेरिका बसाई सराई सपरिवार बस्ने । जसको उद्देश्य केवल यतै कमाई गर्ने र यतै बस्ने । उनीहरुमा धैर्यता हुन्छ । यतै पढने, सन्तानलाई पढाउने र कमाउने तर्फ केन्द्रित हुन्छन ।

उनीहरु नेपालको त्यति चासो राख्दैनन् । यो वर्गले कमाउँछ र धनी हुँदै जान्छन । पढे अनुसार राम्रो जागिर पाईने हुनाले यो वर्ग पनि धनीमा पर्दछन नेपाली समुदायमा ।

दोस्रो समुदाय आधा नेपालमा र आधा अमेरिकामा मन हुन्छ । आवत जावत गर्छन । यसो गर्दा कमाई त्यति हुँदैन । जसले केहि यता सम्पत्ति जोड्ने गर्छन भने सदैव आर्थिक कठिनाईको सामना गर्छन । मुद्राको संकटमा परि रहेका हुन्छन किनभने अमेरिका महँगो छ । मेहनत गरि कमाएता पनि सन्तुलन राख्नु पर्ने हुनाले त्यति कमाई नहुन सक्छ ।

तेस्रो वर्ग, अमेरिका नबस्ने । कुनै हालतमा कमाउ । नेपाल फर्क भन्ने मानसिकता लिएर अमेरिका छिरेका हुन्छन । हुन् त प्रारम्भिक चरणमा नबस्ने भए पनि अन्त्यमा अधिकांश मानिसले निर्णय परिवर्तन गर्दछन ।

उनीहरुलाई कसैको चासो हुदैन । काम, काम र काम मात्र । कुनै दुनियाँसंग मतलब हुदैन । नेपालमा ७ या ९ तला घर बनाउने र भाडा लगाएर या अन्य कुनै ब्यबसाय गरेर जीवन चलाउने उद्देश्य हुन्छ । बैशाख १२ गतेको भूकम्पपछि ७ तला र ९ तला भन्दा पनि १ तला बनाउनुपर्छ भन्ने सोचाई बदलिएको पनि हुन् सक्छ । यिनीहरु सफल पनि हुन्छन । खर्चलाई नियन्त्रण गर्छन र कतै कंचो पनि निकालदैनन् अनि पैसै पैसाको थुर्प्रो । पैसाको बोरा बोकेर नेपाल फर्कन्छन ।

१८ घण्टा सम्म दिन रात काम गर्छन । अतिरिक्त काम गर्न पछि हट्दैनन् । अन्यमा खर्च नगरी केवल धन कमाउने तर्फ लाग्छन । अमेरिकामा स्वास्थ्य बिमा चर्को हुनाले त्यो पनि गर्दैनन् किनभने देखा जाएगा भनेर दैनिकी कटाई रहेका हुन्छन ।

उनीहरुको बस्ने शैली पनि फरक हुन्छ मिलेर या घर साहुको कुनै बैठक कोठा या स्यानो आश्रय लिएर थोरै पैसामा गुजारा चलाएका हुन्छन किनभने अस्थाई बसोबास गर्ने भन्ने मानसिकता हुन्छ । सुत्ने स्थान मात्र भयो भने उनीहरुलाई पुग्दछ । पूर्ण मितव्ययिता अप्नाउछन । कुखुराको डाकमा हिड्यो अनि मध्यरातमा घर फर्क्यो जस्तो जीवन हुन्छ । अझ ठूला ठूला महानगरमा २४ सै घण्टा जाग्ने शहर हुनाले काममा सम्झौता गर्दैनन् । र अमेरिकन डलरको भाउ बढ्दै गएकोले निकै कमाई हुन्छ र अन्त्यमा स्वदेश करोड पति भै फर्कन्छन । यस्ता काम गर्नेको थोरैको कागजात पनि हुँदैन । गैर कानुनी रुपमा अमेरिका बसेका हुन्छन ।

तर यिनै मानिस नराम्रो संगतमा फसे सबै टाट भै शाहरुख़ ख़ान को ‘राजु बन गया जेन्टल म्यान’ जस्तै हुन्छन ।

अमेरिका अब भाडा माझ्न मानिस आउँदैनन । किनभने जता पनि नेपाली समुदाय भएकोले काम पाउने सम्भावना ज्यादा हुन्छ र नेपाली भएको नाताले बेरोजगार भै भौतारिनु पर्दैन, नेपालीले सहयोग गर्छन । २ दशक जस्तो अमेरिका छैन, अहिले । नेपालीहरु प्रशस्त ब्यबसायमा संलग्न छन् । राम्रो आर्थिक कमाई गरिरहेका छन् ।

अधिकांश नेपाली समुदायले नेपालमा भएको आफ्नो सम्पत्ति बेचबिखन गरेर व्यापार तथा अन्य काममा लगानी गर्ने गरेका छन् । उताको सम्पत्ति ल्याएर घर किन्ने पनि गरेका छन् ।

अमेरिकाको नागरिकता लिएपछि नेपालमा घर राख्न हुदैन भनेर घरजम गरेर पनि बस्ने प्रवृति बढ्दै छ । अमेरिकामा पनि नेपालीहरु नेपालको तुलनामा धनाड्य हुदै गरेको अवस्था छ ।

एउटा ब्यबसाय गर्नेले राम्रो कमाई गर्दछ भने एउटा बाट २ वटा हुदै अन्य ब्यापार थप्दै कमाई बढ्दै गएको छ । नेपालीहरुको पसल या ईन्धन चौकी (ग्यास स्टेसन) ३० वटा सम्म पनि चलाएर बसेका छन् । अमेरिकामा आवासीय घर निर्माण कम्पनी संचालन गरि राम्रो कमाई भएका नेपालीहरु पनि निस्केका छन् ।

अमेरिकामा कानुन कडा भएकोले गैर कानुनी बाट कमाउने भन्ने प्रश्न नै हुदैन । गैरकानुनी काम गरि, चोरी गर्ने र अन्य अपराध गतिविधिमा पनि नेपालीहरु परेका छन् । यसो गरेकालाई स्वदेश फर्काएको छ ।

अर्को तरिकाले नेपालीहरुले कमाउने भनेको घर भाडा या बहालमा दिने प्रचलन बढ्दै गएको छ । अमेरिकाका बिभिन्न राज्यहरुमा घर किनी आफूलाई चाहिने मात्र कोठा राखी सबै भाडा दिदा कमाई हुने हुन्छ ।

यसरी पनि मुद्रा कमाउने जुक्ति भएको छ र हुँदैछ । एउटा घरमा राति सुत्ने सम्झौतामा पनि घर मुलिले कमाउने गर्छन । ५ वटा कोठामा आफूलाई एउटा कोठा राखी सबै भाडामा दिने पनि देखिएको छ । जसको कारण घरको किस्ता भन्दा डेढ गुणा पैसा कमाई हुन्छ ।

अनि पैसै पैसा । यसले गर्दा घरको एक सदस्यले काम पनि नगर्नु पर्ने देखिएको छ । यसरी बहालमा दिँदा असमझदारी हुने र गोपनियता भंग हुने हुन्छ । सामान्य असमझदारी भएता पनि मुद्रा आर्जन हुने हुनाले त्यसले कुनै असर पनि नहुने हुन्छ ।

अनि हरेक बर्ष नेपाल आवत जावत गर्ने मध्ये यिनै वर्ग हुन्छन र ७ तला पनि बनाउने यिनै हुन्छन । अनि अमेरिकामा बस्नेले धेरै कमाउछन भन्ने नेपालमा बस्नेले ठान्दछन । अमेरिकामा सबै भन्दा महँगो घरको किस्ता ३० बर्ष सम्म तिर्दा तिर्दा मानिस कायल हुन्छ । साधारण जीवन यापन गर्नेले घरको किस्ता र अन्य तिर्दा तिर्दै जीवन जाने हुन्छ अमेरिकामा ।

घर भाडामा पनि दिने ३ प्रकारमा नेपाली समुदाय छन् । पहिलो, घर किन्ने, बहालमा दिने र कमाउने । त्यसमा पनि कति वटा कोठा लगाउने भन्ने हुन्छ । आफ्नो लागि बाहेक सबै कोठा बहालमा लगाउने । यसले गर्दा कमाई राम्रो हुन्छ किनभने दम्पत्ति नै काममा जाने भएकोले अझ कमाई राम्रो हुन्छ । तर परिवारको सदस्यलाई अल्छि पनि बनाई दिन्छ किनभने किन काम गर्ने भन्ने तर्फ जान्छ । घरको किस्ता भन्दा ज्यादा आम्दानी आउने भएकोले लोग्ने या स्वास्नीमा एकले काम नगर्ने बिषयमा पनि आपसमा विवाद, झगडा तथा मनोमालिन्य हुने देखिएको छ ।

दोस्रो, घरको तल्लो तला मात्र भाडामा दिने प्रचलन भएकोले त्यसो गरि कमाइ पनि गरिने हुन्छ जसको कारण घर किस्त्तामा निकै बोझ कम् हुन्छ र कमाइ बचत हुन्छ । यसो गरे नेपालमा घर ठडिन्छ ।

तेस्रो वर्गमा घर भाडामा दिने सुन्ने बित्तिकै कन्सिरी तात्छ । घर भाडा दिने बिषयमा पूर्ण खिलाफ हुन्छन किनभने उनीहरु गोपनियता चाहन्छन । घर भाडामा लगाई सकेपछि गोपनियता भंग हुने कुरामा भयभित हुन्छन । उनीहरु थोरै कमाई भएपनि चित्त बुझाउछन । सन्तोषम परम सुखम भन्ने सिद्धान्तमा बाचेका हुन्छन । यस्ता वर्गका मानिसले नेपालमा घर बनाउन सक्ने सम्भावना कम् हुन्छ । र, नेपाल आवत जावत गर्न कठिन हुन्छ । यी वर्गले किस्ता तथा अन्य तिर्दै जीवन घसेटी रहेका हुन्छन ।

अमेरिकामा अधिकांश नेपालीहरु पहिलो पुस्ताका छन् भने अब दोस्रो पुस्ताका नेपालीले राम्रो कमाई अवस्य राम्रो गर्ने छन् भन्ने विश्वास लिइएको छ । यसरी पनि कमाई हुने हुनाले सपनाको संसार अमेरिकामा बसी नेपालमा ७ तला घर बनाउने हो या कस्तो बनाउने हो ? त्यो अमेरिकामा बस्ने नेपाली समुदायले सोच्ने कुरा हो । केवल नेपाली समुदायले मात्र हैन अन्य देशका समुदायले पनि बहालमा घर लगाई कमाई खाने भाडो बनाएका छन् ।

जसले जे जति कमाई गरे पनि कसैको टाउको नदुखोस किनभने परिवारको आफनै समस्या हुन्छ । अर्काको कमाईको रिस र डाहा गर्नु दरिद्र मानसिकता हुन्छ । आफ्नो समस्या अर्काले आएर समाधान नगर्ने हुनाले जे भयो ठिकै भयो, जे हुन्छ ठिकै होला भन्ने सम्झनु नै उत्तम । तै चुप मै चुप । अमेरिकामा अर्को चासो नगर्नु भन्ने भएकोले नजाने गाउँको बाटै नसोध्नु नै बेस ।

………………………….अस्तु