३० आश्विन २०८३, शुक्रबार

भूकम्पले ८५ झोलुङ्गे पुल क्षतिग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge-Pulकाठमाडौँ, ३१ जेठ । गोरखा भूकम्पबाट प्रभावित १४ जिल्लाका ८५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । प्राकृतिक प्रकोपले स्थानीय जनताको आवतजावतको प्रमुख माध्यमका रुपमा रहेको पुल भत्केपछि आउजाउमा अवरोध उत्पन्न भएको छ ।

भूकम्पले बढी मात्रामा गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापको झोलुङ्गे क्षति भएका छन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का अनुसार भूकम्प प्रभावित क्षेत्रमा आगामी छ महिनाभित्रै झोलुङ्गे पुल पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ ।

ग्रामीण क्षेत्रमा नदी वारपार गर्न सहज माध्यमका रुपमा रहेको झोलुङ्गे पुल भत्केपछि भूकम्पले प्रभाव पारेका क्षेत्रका जनताबाट डोलीडारमा दैनिक एक दर्जनभन्दा बढी जानकारी आउने गरेको छ ।

डोलीडारका महानिर्देशक जीवनकुमार श्रेष्ठले भूकम्पले प्रभाव पारेका क्षेत्रमा क्षतिग्रस्त भएका पुलको पुनःनिर्माणका लागि ‘झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम’ मार्फत केही रकम विनियोजन गरिने र अपुग रकम अन्य स्रोतबाट जुटाइने जानकारी दिनुभयो ।

मुलुकभित्र एक घन्टाभन्दा बढीको फेरो लगाउनुपर्ने गरी झोलुङ्गे पुलको निर्माण तथा मर्मत गरी स्थानीय जनतालाई नदी खोला तर्न सुरक्षित तथा भरपर्दो यातायातको सुविधा उपलब्ध गराई बजार, आधारभूत सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच सुनिश्चित गर्ने त्यस खालको पुल निर्माण गरिने गरिएको छ ।

नेपालमा विसं २०२० देखि नै झोलुङ्गे पुल निर्माण सुरु गरिएको थियो । हालसम्म पाँच हजार ७३५ वटा झोलुङ्गे पुल निर्माण भइसकेको छ । आगामी पाँच वर्षभित्र थप एक हजार ५०० नयाँ त्यस्ता पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

गत वर्षमात्रै ३७६ वटा पुल निर्माण गरिएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गत वर्ष हरेक दिन एउटा झोलुङ्गे पुल निर्माण गरिएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको पुल निर्माणलाई प्रशंसा गरेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा ४७६ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भूकम्पका कारण केही निर्माणाधीन पुलमा क्षति पुगेको भए पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न गरिने लक्ष्य डोलीडारले राखेको छ । गत महिनासम्ममा २५० वटा पुल तयार भइसकेको छ ।

चालु आवमा रु एक अर्ब ५२ करोड ९९ लाख पुल निर्माणका लागि विनियोजन गरिएको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र दातृ निकायको सहयोगमा पुल निर्माण सम्पन्न गरिने महानिर्देशक श्रेष्ठको भनाइ छ ।

नेपालको झोलुङ्गे पुल निर्माणको प्रविधिलाई युरोप, दक्षिण अमेरिका र अफ्रिकी मुलुकलेसमेत अनुसरण गरेका छन् । रासस