दैलेख, ३१ जेठ । खानेपानीको हाहाकार हुने अवलपराजुल गाविस–४ भुर्सालडाँडामा खानेपानीको धारा टोलटोलमा पु¥याएपछि किसानले तरकारी लगाउन थालेका छन् ।
खानेपानीकै समस्या हुने उक्त गाउँमा तरकारी लगाउने कुरा सपनाजस्तै हुन्थ्यो तर, घर नजिक धारा निर्माण भएपछि स्थानीयले पानीको प्रयोग गरेर तकारी लगाएका हुन् ।
मौसमी तरकारी खाने यहाँका स्थानीयहरु पानीको सुविधा पुगेपछि बेमौसमी तरकारी लगाउन थालेका छन् । धारा बनेपछि अधिकांश दलित समुदाय बढी लाभान्वित भएको छ । रु पाँच लाख २० हजार ५०० लागतमा खानेपानी योजना सम्पन्न भएको हो ।
यस्तै अवलपराजुल–५ मा २०६६ सालमा बनाइएको तिहुबोट सिँचाइ योजनाबाट किसानले राम्रो प्रगति गरेका छन् । यही गाउँका जङ्गबहादुर बुढाले कृषि मेला प्रदर्शनीमा नौ किलो २०० ग्रामको बन्दागोभी प्रदर्शनी गरेर प्रथम पुरस्कारसमेत पाए ।
सिँचाइ पुगेपछि धमाधम तरकारी लगाएर यहाँका किसानले आम्दानी गर्न थालेका छन् । “उत्पादन राम्रो हुने गरेको छ तर बजार नहुँदा समस्या भएको छ” बुढाले भन्नुभयो । उहाँले तरकारी सङ्कलन केन्द्र आवश्यक रहेको बताउनुभयो ।
उच्च पहाडी गरिबी निवारण आयोजनाले खानेपानी र सिँचाइ पोखरी बनाएको हो । यहाँ रहेका २० घरधुरीसित सिँचाइ सुविधा पुगेपछि उनीहरु तरकारीमै होमिएका छन् । रासस















प्रतिक्रिया