६ कार्तिक २०८३, शुक्रबार

नेपालगन्ज मेडिकल कलेजमा आन्दोलन, ‘बबाल गर्नेको चङ्गुलमा जेहेन्दार विद्यार्थी’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalgung-medical-college

– विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज, २९ जेठ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालक समितिले आन्दोलनरत इन्टर्न डाक्टर र एमविविएसलाई बार्तामा आएर आफ्ना कुरा स्पष्ट रुपमा राख्न सुझाएको छ ।

सञ्चालक समितिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पत्रकार सम्मेलन गरी बार्तामा आउने र आफ्ना कुरा राख्ने इन्टर्न डाक्टर र विद्यार्थीलाई कुनै किसिमको कारवाही र परीक्षामा अनुत्तीर्ण नगराउने स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रवन्ध निर्देशक सुरेश कुमार कनोडियाले बार्ताका लागि अधिकार सम्पन्न समिति गठन गरेर बार्ता आह्वान गरे पनि आन्दोलनरत इन्टर्न डाक्टर र एमविविएस अध्ययनरत विद्यार्थी बार्तामा नआएका कारण बार्ताले मूर्त रुप लिन नपाएको जानकारी दिए ।

उनले भने, ‘विभिन्न माग राखेर आन्दोलन गर्ने तर मागका बारेमा छलफल गर्न डोकेको बार्तामा बस्न नसक्ने हो भने समस्या समाधान कसरी हुन्छ ?’

उनले बार्तामा आएर समस्या समाधान गर्न आन्दोलरत पक्षलाई सुझाए । ‘हाम्रो कारणले होइन आन्दोलनरत पक्षका कारण समस्या जटिल बन्दै गएको छ,’ डा. कनोडियाले भने, ‘कलेजले कारवाही स्वरुप परीक्षामा अनुत्तीर्ण गराउने र सर्टिफिकेटमा नराम्रो क्रियाकलाप गरेको लेख्छकी भनेर डराएको हो भने आन्दोलन किन गरेको हो ।’

आन्दोलनरत इन्टर्न डाक्टर र एमविविएस विद्यार्थीले ब्यवस्थापन समितिका कारण मागको सुनुवाई नभएको आरोप लगाइरहेका बेला अस्पतालका प्रवन्ध सञ्चालक डा. कनोडियाले आन्दोलनरत पक्षका कारण विवाद समाधान हुन नसकेको बताए ।
अस्पताल जस्तो सम्बेदशील संस्थामा तालाबन्दी गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको बताए ।

उनले जेहेन्दार विद्यार्थी भन्दा परीक्षामा पटक–पटक अनुत्तीर्ण हुने विद्यार्थीको सहभागिता रहेको आरोप लगाए । डा. कनोडियाले भने, ‘पढाईभन्दा बवालमा ध्यान दिने विद्यार्थीको लहलहैमा जेहेन्दार र सोझासाझा विद्यार्थी फसेका छन् ।’ एक थरी आन्दोलन गर्ने र अर्को थरी आन्दोलन नगर्ने विद्यार्थी भएको अस्पतालले जनाएको छ ।

अन्य मेडिकले कलेजको तुलनामा नेपालगन्ज मेडिकल कलेजले इन्टर्न डाक्टरलाई बढी पारिश्रमिक दिएको अस्पताल सञ्चालक समितिले दावी गरेको छ । अन्य कलेजले ७ हजार ५०० रुपैयाँ पारिश्रमिक दिइरहेका बेला नेपालगन्ज मेडिकल कलेजले ९ हजार ४०० रुपैयाँ पारिश्रमिक दिँदै आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका निर्देशक जितेन्द्र महासेठले बताए । उनले थप एक हजार रुपैयाँ बढाउने सहमति भइसकेको जानकारी दिए । ‘अन्य कलेजको तुलनामा हामीले बढी पारिश्रमिक दिइरहेका छौँ । देसभरका कलेजले बढाए हामी पनि बढाउन तयार छौँ ।’

अनुत्तीर्ण भएको विषयका लागि थप शुल्क लिएको आरोपको खण्डन गर्दै प्रवन्ध सञ्चालक डा. कनोडियाले साढे चार बर्ष पढाउने सम्झौता भएकोले थप अध्ययनबापत शुल्क लिने गरेको प्रष्ट्याए । उनले भने, ‘ कलेजले अतिरिक्त शुल्क लिएको छैन । अभिभावकसँग भएको सहमति अनुसार शुल्क लिइरहेको छ ।’

इन्टर्न डाक्टर र एमविविएस अध्ययनरत विद्यार्थीका कारण शिक्षण अस्पताल कोहलपुरले दिने सम्पूर्ण सेवा अवरुद्ध भएको डा. कनोडियाले जानकारी गराए । उनले अस्पताल जस्तो सम्बेदनशील संस्थामा ताला बन्दी गर्नु हुँदैन भन्ने सिकाउन नसक्नु आफूहरुको कमजोरी भएको स्वीकार गरे । ‘विद्यार्थीलाई बुझाउन नसक्नु हाम्रो पनि कमी कमजोरी देखिएको छ,’ डा. कनोडियाले भने ।

मेडिकल कलेजले होस्टेलमा बस्ने विद्यार्थी र इन्टर्न डाक्टरसँग मासिक ३ हजार ४०० रुपैयाँ शुल्क लिँदै आएको छ । ‘इन्टर्न डाक्टरले पाउने पारिश्रमिकबाट होस्टेल चार्ज कटाइन्छ,’ अस्पतालका आर्थिक प्रशासन प्रवन्धक श्याम कुमार शर्माले भने, ‘होस्टेलमा बस्न नचाहने इन्टर्न डाक्टरसँग शुल्क लिइदैन ।’

अनुत्तीर्ण विद्यार्थीको शुल्क मिनाह गर्न तत्काल नसकिने अस्पताल ब्यवस्थापनले जनाएको छ । ‘अतिरक्त शिक्षा बापतको रकम नबुझाउने हो भने पढाउन सकिदैन,’ प्रवन्ध सञ्चालक कनोडियाले स्पष्ट पारे ।

नेपालगन्ज मेडिकल कलेजले आन्दोलनरत पक्षसँग बार्ता गर्न कलेजका प्रिन्सिपल डा. एमएस मिश्राको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उप–प्राचार्य डा. गोपाल प्रसाद श्रेष्ठ, अस्पतालका निर्देशक जितेन्द्र महासेठ, आर्थिक प्रशासन प्रवन्धक श्याम कुमार श्रेष्ठ र डा. सन्दिप गुरुङ सदस्य छन् ।