धनगढी, २८ जेठ । नेपाली पत्रकारितालाई विकाससंग जोडेर लैजानु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा बिहीबार धनगढीमा भएको विकास पत्रकारिता अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले नकारात्मक भन्दा सकारात्मक पत्रकारिताको खाँचो रहेको औंल्याए ।
सहभागीहरुले नेपाली पत्रकारिता राजनीति र मिसनको वरपर मात्र केन्द्रीत रहेकाले विकास पत्रकारितालाई व्यावसायीक रुपमा अघि बढाउनु पर्ने चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले पत्रकारितालाई विकाससंग जोडनुपर्ने बताए ।
नेपाली पत्रकारिता राजनीति क्षेत्रमा केन्द्रीत रहेको चर्चा गर्दै अध्यक्ष सोडारीले स्थानीय मिडियाले पनि स्थानीय तहमा हुने गरेका विकासलाई प्राथमिकता दिनुपर्ने बताए । वरिष्ठ पत्रकार मनमोहन स्वाँरले नकरात्मक भन्दा सकारात्मक पत्रकारितामा जोड दिए । विकास पत्रकारिता अरु पत्रकारिता जस्तो सजिलो छैन्, स्वाँरले भने यसको प्रभाव पनि अरु भन्दा फरक प्रभाव पार्छ ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले नेपाली सञ्चार माध्यममा विकास पत्रकारिताको आवश्यकता रहेको बताए । अझै पनि विकास पत्रकारिताको सुरुवात हुन नसकेको चर्चा गर्दै सुदूरपश्चिम संयोजक शाहले सकारात्मक सोचले परिर्वतन हुने र यसको प्रभाव पनि दिगो रहने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाहले विकासका मुद्दाहरु तुलनात्मक रुपमा कम उठ्ने गरेको बताउँदै विकासका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिनु पर्ने बताए । कैलालीको एक तिहाई भूगोल पहाडी क्षेत्रमा रहेको चर्चा गर्दै शाहले ग्रामीण तथा दुरदराजका विकासका मुद्दालाई उठान गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भरत शाह, प्रेस युनियनका सेती अञ्चल संयोजक जगत साउँद, प्रेस चौतारीका सेती अञ्चल संयोजक हेमकर्ण विकले बोलेका थिए । प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष मीन ठकुरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा सचिव प्रकाश मिश्रले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सदस्य यमबहादुर बमले गरेका थिए ।
नेपाल पत्रकार महासंघ कैलालीका सचिव एकिन्द्र तिमिल्सिना र भोजराज जोशीले सहभागिहरुलाई विकास पत्रकारिता, यसको महत्व तथा नेपालमा विकास पत्रकारिताको अवस्थाबारे अभिमुखिकरण गराए । जिल्ला विकास समिति कैलालीको आर्थिक सहयोगमा भएको अभिमुखिकरणमा धनगढी, अत्तरिया, पहलमानपुर, सुखड, बौनिया र लम्की टिकापुर क्षेत्रमा कार्यरत २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया