काठमाडौं, २७ जेठ । नेपालमा बुधबारमात्रै तीन वटा भूकम्पका धक्का महसुस भएका छन् ।
३ दिनदेखि धक्का आउन रोकिएका बेला बुधबार विहानैदेखि ३ वटा भूकम्पका धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बुधबार सिन्धुपाल्चोकमा दुई पटक दोलखामा एक पटक गरी तीनवटा धक्का महसुस भएका हुन् । बुधबार विहानै ३ बजेतिर सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो ।
त्यसको १० घण्टापछि बुधबार दिउँसो फेरि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको अर्काे धक्का महसुस भएको थियो । दोस्रो भूकम्पको धक्का दिउँसो १ बजेर २६ मिनेटमा ४ दशमलब ३ रेक्टर स्केलमा महसुस भएको थियो ।
यस्तै, त्यसको ठिक एक घण्टापछि दोलखा केन्द्रविन्दु भएर २ बजेर ५१ मिनेटमा ४ दशमलब २ रेक्टर स्केलको धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
गत आइतबार राति १० बजे गएको एउटा भूकम्पपछि बुधबार तीन दिनपछि तीनवटा भूकम्प किन गए ? यसबारेमा धेरैले अनिष्टको संकेत भनेका छन् । तर यसबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपालमा तीन महिनासम्म धक्का गइरहने भएकाले नआत्तिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो-‘यो नियमित प्रक्रिया हो, ठूला भूकम्पपछि साना धक्का आउनु स्वभाविक हो, एकै दिन धेरै भूकम्प आउनुको खास कारण केही छैन्, तर चट्टानी सतहमा तलमाथि हुँदा कुनैदिन बढी आउने कुनै दिन आउँदै नआउने भइराख्छ ।’














प्रतिक्रिया