– विश्वास खड्काथोकी
घलेगाउँ (लमजुङ), २७ जेठ । अधिकांश जनताहरु राजा भन्ने वित्तिकै दाँत किच्याइहाल्छन् । राजतन्त्रको बहस गर्नसम्म चाँहदैनन् । तर, लमजुङको घलेगाउँमा भने राजाको श्रद्धाका लागि देशभरका घलेहरु भित्रिए ।
उनीहरु शाहबंशीय राजाको श्रद्धाका लागि भने भेला भएका होइनन् । आफ्नै राजा खोजीको लागि उनीहरु घलेगाउँसम्म तानिएका हुन् ।

गाउँमा घलेगाउँका करिव सात सय वर्ष पुराना राजा क्याल्पोको शालिक निर्माण गरिएको छ । त्यही सालिकमा टाउको झुकाउनको लागि नेपालभरका घलेहरु यहाँ आइपुगे । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेका आमा देवीकुमारी घलेले बुधवार उक्त शालिकको शुभारम्भ गरेकी हुन् । ८२ बर्षीय बृद्धा दुर्गा आफ्नो राजाको शालिक देख्न पाउने भएपछि घले गाउँभन्दा केही परको गाउँबाट खुसी हुँदै आइपुगेकी थिइईन् । पर्यटन मन्त्रालयको १० लाख र हाल अमेरिकामा रहँदै आएका आश घलेको ४ लाख सहयोगले शालिक निर्माणकार्य सम्भव भएको हो ।
वि।सं। १५५० मा कालु शाहलाई लमजुङ ल्याएपछि उनलाई घले राजाले मारेको हुनसक्ने गुरुङ इतिहासका अनुसन्धानकर्ता गंगाबहादुर घले बताउँछन् । गाउँ‘शहरमा स्थापना भएको शाहबंशीय राजकाजका पहिलो ब्यक्ति यशोब्रम्ह शाहको पालामा घले राजाको पतन भएको उनको भनाइ छ । कार्यक्रममा काठमाडौं, पोखरा, गोरखा, चितवन लगायत ठाउँका घलेहरुको उपस्थिति थियो ।
आफ्नै जातिको पहिरनमा घलेहरुले लोपोन्मुख संस्कृति प्रदर्शन गरिरहँदा घलेगाउँको सुन्दरता अझ खुलेको थियो । घले र गुरुङहका ड्रेसमा सजिएका स्थानियहरु कहिले पाहुनालाई स्वागत गर्न कसिन्थे त कतिबेला खाजा खुवाउन हतारिन्थे ।

पूर्व गाविस अध्यक्ष प्रेम घलेको सोचले घलेगाउँमा उक्त शालिक निर्माण भएको हो । कार्यक्रममा बोल्दै प्रेमले क्याल्पो घलेहरुको मात्र नभएर सम्पूर्ण तमुहरुको राजा भएको बताए । आफ्नो इतिहासलाई जोगाइराख्न र संसारका घलेहरुलाई घलेगाउँमा आकर्षण गर्नका लागि यो कदम चालिएको उनले बताए । गुरुङ समुदायका अग्रज पत्रकार तथा पत्रकार महासंघ लमजुङका उपाध्यक्ष आश गुरुङले राजाको शालिकसँगै नयाँ खालका पर्यटक आवागमनको ढोका खुलेको उल्लेख गरे ।























प्रतिक्रिया