३० आश्विन २०८३, शुक्रबार

गाईपालनमा लागेका किसानका पीडा ‘दूध उत्पादन बढ्यो, खपत भएन’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cow-Gaipalan

– शेरबहादुर सिंह
भीमदत्तनगर, २७ जेठ । कञ्चनपुरको सुडा गाविसका किसान विष्णुराज पौडेलले उन्नत् जातका गाई चितवनबाट ल्याएर गाईपालनमा जुट्नुभयो । एउटा गाई रु ७५ हजारमा किनेर ल्याउनुभएका पौडेलसित अहिले छवटा गाई छन् ।

आफूसित भएको सारा समय पशुपालनमा खर्चनुभएका पौडेल पछिल्लो समय आफूले अङ्गालेको व्यवसायप्रति सन्तुष्ट हुन सकिरहनु भएको छैन । “निकै मेहनेत गरेर गाईपालनलाई फस्टाँए । दूध बिक्रीको समस्या देखियो” उहाँले भन्नुभयो । उहाँले मासिक रु ३० हजारबराबरको दूध बिक्री गर्दै आउनुभएको छ ।

यहाँका किसानको आकर्षण उन्नत् जातका गाईपालनतर्फ बढ्दै गएको छ । तर दूधको बजारीकरण नहुँदा उनीहरु मर्कामा परिरहेका छन् । जिल्ला पशुसेवा कार्यालयले किसानलाई पशुपालनमा आकर्षित गराए पनि उत्पादित बस्तुको बजारीकरणमा ध्यान दिन नसकेको पौडेलको भनाइ छ ।

सुडा गाविस–१ कै किसान शेरसिंह धामीको पीडा पनि उत्पादित दूध बिक्री कै रहेको छ । पाँचवटा गाई पालेर जीविका चलाउँदै आएका धामीले दूध उत्पादन अनुसारको खपत हुन नसकेको बताउनुभयो । दूध बिक्रीका लागि उहाँले महेन्द्रनगरमा रहेको पाठक डेरी र दुग्ध विकास केन्द्रको भर पर्नु परेको छ ।

“कृत्रिम गर्भाधान गरेर गाईको सङ्ख्यासँगै दूध उत्पादन पनि बढायाँैं तर बजार पाउन सकिरहेका छैनाँैं” धामीले भन्नुभयो । गाईपालनमा लगानी अनुसारको कमाई गर्न नसकिएको उहाँको भनाइ छ । “दूध बिक्रीको ६० प्रतिशत लगानी र ४० प्रतिशत मात्र किसानलाई फाइदा हुन्छ” उहाँले भन्नुभयो । खपत नै नभएपछि गाईपाल्ने किसान ऋणमा डुब्ने अवस्था सिर्जना भएको छ ।

धामीले प्रतिलिटर दूध रु ५० मा बिक्री गरिरहनुभएको छ । किसानको गाईपालनमा लगानी समेत बढिरहेको छ । तर रातदिन गरेर उत्पादन गरेको दूध बिक्री नहुँदा समस्या भएको छ । जिल्ला पशुसेवा कार्यालयले यहाँका विभिन्न क्षेत्रमा किसानलाई पशुपालनमा आकर्षित गराए पनि उत्पादित बस्तुले बजार पाउन सकेको छैन ।

शुक्लाफाँटा गाईभँैसी दुग्ध उत्पादन समिति सुडाका अध्यक्ष रघुवरप्रसाद लेखकले समितिले दैनिक एक हजार लिटर दूध उत्पादन गरिरहेको बताउनुभयो । तर बजारको अभाव रहेकाले दूध कम खरिद गरिरहेको अवस्था छ । “किसानले दूध उत्पादन गरेर पनि बेच्न नपाउने अवस्था सिर्जना भयो” उहाँले भन्नुभयो । यस समितिमा आवद्ध किसानले मात्रै यहाँ १३५ वटा उन्नत् जातका गाईपालेका छन् ।

चार सय किसान गाईपालेर दूध उत्पादनमा जुटेका छन् । तर खपत नहुँदा व्यवसायबाटै पछि हट्नुपर्ने अवस्था छ । पशुसेवा कार्यालयको अनुदानमा सुडाका सयौंँ किसानले गाईपालनका लागि गोठ निर्माण एवम् घाँस उत्पादन समेत गरिरहेका छन् ।

“पुशसेवा र अनुदान दिएर मात्रै हँुदैन” समितिका अध्यक्ष लेखकले भन्नुभयो । सीमावर्ती बजारबाट आउने धुलो पाउडर दूध, खोया, पनिरलगायतका दुग्धजन्य पदार्थको आयातमा रोक लगाउन उहाँले माग गर्नुभयो । “भारतबाट आयात गरिँदा यहाँ उत्पादित दुग्धजन्य बस्तु खपत हुन सकिरहेको छैन” लेखकले भन्नुभयो ।

सुडा क्षेत्रमा मात्रै एउटा किसानले १० देखि ३० वटासम्म जर्सी, होलेस्टेनलगायतका उन्नत् जातका गाईपालन गरिरहेका छन् । दुग्ध प्रशोधन केन्द्रले मासिक १२ हजार लिटर खरिद गर्ने सम्झौता गरेको छ । तर बजार नपाउँदा केन्द्रले पनि मासिक चार हजार लिटर दुध मात्रै खरिद गर्छ । डेरी तथा दुग्ध प्रशोधन केन्द्र सञ्चालकले दूधको खपत कम हँुदै गएकाले खरिदमा कमी गरेका छन् । यसबाट किसानलाई बजारको चिन्ता भएको छ ।

धेरै किसान पशुपालनमा लागेर दुग्ध पदार्थको उत्पादन बढेपनि बिक्रीका लागि बजारको समस्या भएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले स्विकार गर्र्नुुभयो । “बजारीकरण किसानका लागि मुख्य चुनौती भइसकेको छ” उहाँले भन्नुभयो । कञ्चनपुरमा सुडा, बेलौरी, पुर्नवास, दोधारा–चाँदनी, बेलडाँडीलगायतका क्षेत्रका किसान व्यावसायिक रुपमा गाईभैँसीपालनमा लागेका छन् ।

यहाँ वार्षिक ३१ हजार मेट्रिक टन दूध उत्पादन भइरहेको पशुसेवा कार्यालयले जनाएको छ । तर उत्पादित दूधको ७० प्रतिशत मात्रै खपत भइरहेको छ । “तीस प्रतिशत दूधले बजार पाउनसकेको छैन” वरिष्ठ पशु विकास अधिकृत डा धामीले भन्नुभयो । रासस