३० आश्विन २०८३, शुक्रबार

व्यापारी करको दायरामा आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २७ जेठ । नेपाल सरकारले बढीभन्दा बढी करदातालाई करको दायराभित्र ल्याउने अवधारणा अघि सारेपछि भ्याट नतिर्ने तथा वास्तविक विवरण लुकाउने उद्योगी तथा व्यापारी क्रमिक रुपमा करको दायरामा आउन थालेका छन् ।

आन्तरिक राजस्व कार्यालय जनकपुरका अनुसार उद्यमी तथा व्यापारीमा भ्याट छल्ने, वास्तविक बिक्री विवरण लुकाउने र सम्पत्ति नदेखाउने जस्ता प्रवृत्ति बढ्दै गएपछि कार्यालयले अनुगमन थालेको फलस्वरुप त्यस्ता उद्यमी तथा व्यापारी विस्तारै करको दायरामा आउन थालेको हो ।

प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नौ हजार ६६५ करदाता करको दायराभित्र आइसकेका छन् ।

यसमा आयकरतर्फ तीन हजार ६४४, व्यक्तिगत प्यानतर्फ पाँच हजार ११९, भ्याटतर्फ ९०२ फर्म करको दायरामा आएको प्रमुख न्यौपानेले जनाउनुभएको छ ।

लुकेर बसेका करदाताको पहिचान गरी करको दायरामा ल्याइएपछि सरकारको राजस्वसमेत बढेर गएको छ ।

कार्यालयले चालु आवको वैशाखसम्म १०४ प्रतिशतले राजस्व असुलीमा वृद्धि गरेको छ ।

गत आवको तुलनामा कार्यालयले चालु आवको वैशाख महिनामा २६ प्रतिशतले राजस्व असुलीमा वृद्धि गरेको दावी प्रमुख न्यौपानेले गर्नुभयो ।

आयकरतर्फ २३ प्रतिशत, बहाल करतर्फ १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ३५ प्रतिशत, अन्तःशुल्कतर्फ २६ प्रतिशत र स्वास्थ्य सेवा शुल्कतर्फ १५३ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयले अनुगमनमा विशेष जोड दिई इँटा उद्योग, क्रसर उद्योग, स्वास्थ्य क्लिनिकमाथि राखेको निगरानीको कारण राजस्वमा वृद्धि भएको हो ।

कार्यालयले गत वर्षको वैशाखसम्म  ८० करोड ५८ लाख २९ हजार राजस्व उठाएको थियो भने चालु आजको सोही अवधिमा  एक अर्ब एक करोड ५४ लाख ३४ हजार राजस्व उठाउन सफल भएको छ ।

यो तथ्याङ्कलाई हेर्दा यस वर्षको वैशाखसम्म २१ करोड बढी राजस्व उठेको छ । सरकारले इँटाभट्टालाई भ्याटको दायरामा ल्याएपछि धनुषा, महोत्तरी र सर्लाहीका प्रायजसो सबै उद्योग करको दायरामा आएको बताइन्छ ।

करदातासँग बक्यौता रहेको १४ करोड चालु आवको वैशाखसम्म असुली भएको र करिब रु ६ करोड समायोजन गरिएको कार्यालयले जनायो ।