चितवन, २६ जेठ । कतारको एल एबल कम्पनीमा कार्यरत भूकम्प पीडित नेपालीहरुका परिवारलाई भेट्न उक्त कम्पनीका प्रतिनिधीहरु गाउँ-गाउँ पुगेका छन् ।
गत बैशाखमा गएको विनाशकारी भूकम्पमा आफ्ना कामदारले भोग्नु परेको क्षतिको अनुगमन गरी सहयोग गर्ने उद्देश्य अनुरुप उक्त कम्पनीले आफ्ना प्रतिनिधीहरुलाई नेपाल पठाएको हो ।
गत जेठ २१ गते उक्त कम्पनीका प्रतिनिधीहरु नेपाल आएका थिए । सोही कम्पनीमा सबै कामदारहरुको सामाजिक संस्था एरोसले आफ्नो कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुलाई घर निर्माणका लागी सहयोग गर्ने भएको हो ।
चितवनमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा एसोसका कन्भेनर तथा सहयोग अभियानका संयोजक भारतीय नागरिक मिजियास ईकेले नेपालको पुननिर्माणमा थोरै धोरै सहयोग गर्ने चाहाना अनुरुप नेपाल आएको बताए ।

उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भने–‘हामी नेपाली सहकर्मीहरुको दुःखमा सामेल छौं, त्यहाँ काम गर्ने नेपालीहरुको घर पुर्ण रुपमा क्षति भएको पायौं, यो देख्दा साह्रै नै नरमाईलो महशुस भयो । हामी उनीहरुको घर पुनर्निर्माणमा लाग्नेछौ ।’
उनले कामदारको घर पुर्ननिर्माणका लागि ३० लाख बराबरको सहयोग जुटिसकेको बताए । पत्रकारहरुसँग बोल्दै उनले भने–‘हामीले प्रत्यक्षरुपमा यहाँको अवस्था देख्दा अहिले सम्म योजना गरिएको रकम थोरै हो त्यसैले कतार पुग्नासाथ यो रकम बढाएर सबैको घर निर्माण सहयोगका लागी पहल गर्ने छु ।’
एरोस अन्तरगतका कामदारहरुले भूकम्पपीडित कामदारहरुको सहयोगका लागि १० लाख रुपैया संकलन गरिसकेका थिए भने त्यो रकमको दोब्बर २० लाख एल एबल कम्पनीको तर्फबाट संकलन भईसकेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।
उक्त कम्पनीको सहयोग अभियानका सदस्य, सोही कम्पनीमा कार्यरत तथा नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष घनश्याम पराजुली समेत उक्त कम्पनीको प्रतिनिधीको रुपमा ५ दिनका लागि नेपाल आएका थिए ।
पत्रकारहरुको भेटघाटमा उनले त्यहाँ कार्यरत नेपालीहरुको घरघरमा पुगेको अनुभव बताउँदै सहयोग बारे स्पष्ट पारेका थिए । कम्पनीले पाँचदिनका लागि विवरण संकलन गर्न नेपाल पठाएको उनले जानकारी दिए ।
कम्पनीमा कार्यरत भूकम्प प्रभावित कामदारहरुका घर सम्म पुगेर विवरण संकलन गरेको बताउँदै कतार पुगेको एकहप्ता भित्र नै सहयोग रकम दिने उनले जनाए । नेपालका भूकम्प प्रभावित जिल्लाहरु धादिङ, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाहरुका कामदारहरु उक्त कम्पनीमा कार्यरत रहेको कार्यक्रममा जानकारी दिए ।
















प्रतिक्रिया