लहान, २६ जेठ । आँपखेतीको दृष्टिकोणले नमुना गाविस बनेको सप्तरीको कुशाहा गाविसका किसान गाउँमै जुस उद्योग स्थापना गर्न अघि सरेका छन् ।
विगत पाँच वर्षदेखि खेती गर्दै आएका यहाँका किसान गाउँमा उत्पादन हुने आँपबाट जुस उत्पादन गर्ने उद्योग स्थापना गर्न सक्रिय बनेका छन् । उनीहरु उद्यमशील कृषि सहकारी संस्थाको अगुवाईमा जुस उत्पादन गर्ने अभियानमा लागेका हुन् । यसले आर्थिक सम्वृद्धिको बाटो खुल्ने उनीहरुको विश्वास छ ।
पूर्व–पश्चिम राजमार्गसँगै टाँसिएको कुशाहामा करिब ५०० बिघा क्षेत्रफलमा आँपखेती हुँदै आएको छ । जुस उत्पादन गर्ने उद्योग नहुँदा किसानले यहाँ उत्पादन भएका आँप सस्तो मूल्यमा अन्यत्र निर्यात गर्दै आएका छन् । उचित मूल्य नपाएका कारण जुस उद्योग स्थापना गर्न लागेको स्थानीय रामवीर चौधरीले बताउनुभयो ।
“मूल्य नपाएपछि सस्तो दरमै बिक्री गर्न वाद्य छौँ” उहाँले भन्नुभयो । उद्योग स्थापना भएपछि जिल्लाका टिकुलिया, वनरभुल्ला, पङ्सेरालगायतका गाविसका किसान लाभाम्वित हुने छन् । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत आँप उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
माटो उपयुक्त भएको र किसानले विज्ञको सल्लाह अनुसार खेती गर्दै आएकाले यहाँ आँपको उत्पादन अत्यधिक हुने गरेको छ । जुस उद्योगको तयारीबारे जानकारी लिन कृषि मन्त्रालयका सहसचिव दिनेश पराजुलीको नेतृत्वमा एक टोली समेत यहाँ आइपुगेको छ । सहसचिव पराजुलीले आँपको उद्योग स्थापनाका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभयो । “छिटै प्राविधिक अध्ययन गरी मन्त्रालयले सहयोग गर्ने छ” उहाँले भन्नुभयो ।
यहाँ मालदह, बम्बई, कलकत्तिया, दशहरी, जर्दालुलगायतका जातको आँपखेती हुँदै आएको छ । गत वर्षमात्रै यहाँ उत्पादन भएको १०० मेट्रिक टन आँपमध्ये रु दुई करोड मूल्य बराबरको आँप बिक्री भएको थियो । जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । मधुवा किरा र हुरीबतासले मजुरामा क्षति पु¥याएपछि यसवर्ष उत्पादन घटेको कृषि विकास कार्यालयका बागवानी अधिकृत सिताराम मण्डलले जानकारी दिनुभयो ।
“यसवर्ष ४४ हजार मेट्रिक टन आँप उत्पादन भएको छ” उहाँले भन्नुभयो । गत वर्ष २० हजार मेट्रिक टन आँप उत्पादन हुँदा रु चार करोड भन्दा बढीको आँपको व्यापार भएको थियो । रासस















प्रतिक्रिया