काठमाडौं, २२ जेठ । नेपालमा शुक्रबार भूकम्पका दुई धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आज काठमाडौंलाई केन्द्रविन्दु बनाएर दिउँसो भूकम्प गएको थियो । यस्तै पहिलो भूकम्प विहान १० बजेर १ मिनेटमा सिन्धुपाल्चोकमा गएको थियो ।
केन्द्रका अनुसार काठमाडौंमा २ बजेर १६ मिनेटमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो, भने सिन्धुपाल्चोकमा ४ दशमलब १ रेक्टरको धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
यो लगाएर नेपालमा शुक्रबार राति ८ बजेसम्म दुई वटा मात्रै धक्का महसुस भएका छन् ।
काठमाडौंमा एक जनाको मृत्यु
यस्तै, गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेको घर भत्काउने क्रममा शुक्रबार काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।
भूकम्पले चर्किएको घर भत्काउने क्रममा पर्खालको इँटाले च्यापेर गोलडुङ्गा डेरा गरी वस्ने नुवाकोट सुनाखानीका रुपेश तामाङ्गको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका-३२ न्युप्लाजास्थित वद्रीकुमार श्रेष्ठको आठतले घर भत्काउनेक्रममा पर्खालको इँटाले च्यापेर गम्भीर घाइते भएका उनको मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
विनाशकारी भूकम्पबाट नेपालमा हालसम्म ८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।













प्रतिक्रिया