काठमाडौं, २२ जेठ । सिन्धुपाल्चोक र दोलखाको सीमाना सिन्दुरेडाँडामा भएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा पाँच जना नेपालीको पनि मृत्यु भएको पुष्टि भएको छ ।
गत वैशाख २९ गते आएको शक्तिशाली भूकम्पछि खोज तथा उद्दारमा दोलखा सदरमुकामबाट उडेको हेलिकप्टर दिउँसोबाट सम्पर्कविहिन भएको थियो । उक्त हेलिकप्टर ११ हजार २०० फिटको उचाईमा रहेको सिन्दुरेडाँडामा जेठ १ गते दुर्घटनाग्रस्त भेटिएको थियो । उद्दारमा जाँदा उक्त हेलिकप्टर २ नेपाली र ६ अमेरिकी सैनिक थिए ।
तर, नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीले हेलिकप्टर दुर्घटनाग्रस्त ईलाकाबाट फेला परेको मानव अस्थिपन्जरको भागहरु संयुक्त रुपमा अनुसन्धान गर्दा पाँच जना सर्वसाधारण समेत हेलिकप्टरमा रहेको पुष्टि भएको हो ।
हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुने सर्वसाधारणमा दोलखा लादुक ७ का धु्रव कट्वाल, लोक बहादुर कट्वाल, शिव खत्री, यम बहादुर खत्री र लामिडाँडा गाविसकी साबित्री सिवाकोटी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पाँच जना सर्वसाधारणसँगै हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या अब १३ पुगेको छ । सर्वसाधारणको उद्दार गरी काठमाडौं ल्याउने क्रममा दुर्घनामा परी मृत्यु भएको जनाइएको छ । हेलिकप्टर दुर्घटना के कारण भयो भन्ने कुरा अझै खुल्न सकेको छैन् ।
















प्रतिक्रिया