३० आश्विन २०८३, शुक्रबार

भूकम्पमा परिवार गुमाएपछि दुई हजार बढी कामदार स्वदेश फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bides-Jadai

काठमाडौँ, २२ जेठ । भूकम्पका कारण दुई हजार २५३ कामदार स्वदेश फर्किएका छन् ।

भूकम्पका कारण आफन्त गुमाएका वैदेशिक रोजगारीमा रहेका १०७ कामदार स्वदेश फर्किएको पनि श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सो तथ्याङ्क दिए पनि सोभन्दा ठूलो सङ्ख्यामा कामदार स्वदेश फर्किएको अनुमान गरिएको छ ।

सम्बन्धित देशका रहेको नेपाली दूतावासलाई कुनै जानकारी नदिइ आफ्नै पहलमा कामदार स्वदेश फर्किएकाले यकिन तथ्याङ्क नआएको परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालयको भनाइ छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रमसमितिको आजको बैठकमा आफन्त गुमाएका वा घर भत्किएर वैदेशिक रोजगारीबाट कति स्वदेश फर्किए भन्ने तथ्याङ्क दुई मन्त्रालयले फरकफरक प्रस्तुत गरे ।

श्रम तथा रोजगार मन्त्रालयले भूकम्पका कारण दुई हजार २५३ जना स्वदेश फर्किएको तथ्याङ्क प्रस्तुत गर्‍यो भने परराष्ट्र मन्त्रालयले एक हजार १७२ जना स्वदेश फर्किएको विवरण समितिको बैठकमा प्रस्तुत ग¥यो ।

यसअघि समितिको बैठकले वैशाख १८ गते आफन्त गुमाएका कामदारलाई आउन र जान निःशुल्क टिकटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएअनुरुप मन्त्रिपरिषद्को वैशाख २४ गते निःशुल्क टिकट दिने निर्णय गरेको थियो ।

सोहीअनुरुप आफन्त गुमाएका स्वदेश आउन चाहेकामा कुवेत, बहराइन, ओमान, दक्षिण कोरियाका लागि रु ५० हजार, दुबइ, कतारका लागि रु ४५ हजार, साउदी अरबका लागि रु ४२ हजार र मलेसियाका लागि रु ४० हजार रुपैयाँ दिने निर्णय श्रम तथा रोजगार मन्त्रालयले गरेको छ ।

भूकम्पका कारण परिवारका सदस्य गुमाएका वैदेशिक रोजगारीमा गएका कामदारलाई निःशुल्क आउनेजाने टिकटको व्यवस्था गर्ने सरकारी निर्णय भए पनि विविध कारणले उनीहरु स्वदेश फर्किन सकेका छैनन् । घर फर्किन नपाएकालाई सहज वातावरण बनाउन निर्देशन समितको आजको बैठकमा भूकम्पले अफन्त गुमाउँदा र घर भत्किँदा पनि विविध कारणले कामदार स्वदेश फर्किन नपाएको भन्दै स्वदेश फर्किने वातावरण बनाउन परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा सभासद्हरुले कतिपय कम्पनीले घर फर्किन बिदा नदिने गरेको, निःशुल्क टिकटको प्रक्रिया झन्झटिलो भएको लगायतका समस्या देखिएको भन्दै सहजताका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकले कामदारको घरफिर्तिका लागि विदेशस्थित नेपाली नियोगलाई प्रभावकारी ढङ्गले परिचालन गर्न, गैरआवासीय नेपालीको सङ्गठनको सहयोग लिन र कामदार पठाउने म्यानपावर एजेन्सीले पनि घर फर्कन सहयोग गर्ने दायित्व रहने भएकाले उनीहरुलाई समेत परिचालनका लागि ठोस कदम लिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रभु साहले बताउनुभयो । रासस