३० आश्विन २०८३, शुक्रबार

‘अनैतिक प्रेम सम्बन्ध पर्दाफास हुने डरले शिक्षिकाको बलात्कारपछि हत्या’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-552f7859c917b_exlst– दीपक ओली

धनगढी, २१ जेठ । यहि जेठ १५ गते मृत अवस्थामा फेला परेकी कैलाली, रामशिखरझाला–२, रतिपुरकी यशोदादेवी शाहीको योजनावद्ध ढंगले हत्या भएको परिवारजनले दाबी गरेका छन् ।

जेठ ११ गतेराति देखि बेपत्ता शिक्षिका समेत रहेकी यशोदाको शव पहलमानपुर गाविस १ को तुलसीपुर सामुदायिक वनमा अर्धनग्न अवस्थामा फेला परेको थियो ।

मृतकका परिवारजनले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी रतिपुरका डम्मर शाह, उनकी श्रीमती ज्ञानु शाह र छोरी कल्पना शाहको योजनामा यशोदाको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् ।

मृतकका जेठाजु तपेन्द्र शाहीले यशोदा र डम्बरबीचको अनैतिक सम्बन्ध समाजमा खुल्ने डरले उनको हत्या भएको दाबी गरे । ‘डम्मर र यशोदाबीचको सम्बन्ध समाजमा खुल्ने डरले डम्मर, उनकी श्रीमती र छोरीले अन्य व्यक्तिहरुलाई प्रयोग गरि हत्या गरेका हुन्,’ तपेन्द्रले भने, ‘अहिले ज्ञानु र कल्पनालाई मात्र दोषी देखाएर अरुलाई निर्दोष बनाउने चलखेल भइरहेको छ ।’

यशोदालाई बोलाएर केटाहरु लगाएर बलात्कारपछि हत्या भएको उनको आरोप छ । यशोदा गाउँमै रहेको शान्ति निम्न माद्यामिक विद्यालयमा सात वर्षदेखि अध्यापन गराउदै आएकी थिईन् भने सो विद्यालयका डम्मर प्रधानाध्यपक हुन् । डम्मर र यशोदाका माइतीपक्षका काका नाता पर्ने हुन् ।

सो घटना भएको जेठ ११ गते रातिनै डम्मरकी छोरी कल्पना स्थानीय बिक्रम बोगटीसंगै भारतको राजधानी नयाँदिल्ली फरार भएकी थिइन् । उनीहरुलाई प्रहरीले भारतबाटै नियन्त्रणमा लिएको थियो भने डम्मर, उनकी श्रमती ज्ञानु, पवित्रा सिंह, जयन्ती सिंह र लक्ष्मीदेवी सिंह, पहलमानपुर–१ का प्रविन मिश्र, खेम अधिकारी, मेघ पौडेल, बिराज घर्तीमगर र प्रेम थापालाई जेठ १५ गते नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्वराज खड्काले जनाए ।

कल्पनाले आफू विक्रमसँग विवाह गरेर जान लागेको मलाई एक पटक भेट गर भनेर यशोदालाई पटकपटक फोन गरेपछि उनी भेटन गएको परिवारजनले बताएका छन् । यशोदाको मोबाईलबाट आफू आफन्तको घरमा रहेको र भोली आउने भनेर उनकी भतिजीको मोबाईलमा एसएमएस आएको बताइन्छ ।

राति १० बजे घरबाट गएकी यशोदा बेपत्ता भएपछि परिवारजनले अस्थायी प्रहरी चौकी पहलमानपुरमा खोजविनका लागि निवेदन दिएका थिए ।

प्रहरी प्रवक्ता खड्काले हालसम्मको अनुसन्धान अनुसार यशोदाको हत्या भएको बताए । ‘प्रमाण र पक्राउ परेकाहरुसंगको सोधपुछका आधारमा यशोदाको हत्या भएको देखिन्छ,’ उनले भने, ‘केहीको बयान लिने काम भइरहेको छ । अनुसन्धानमा प्रभाव पार्ने भएकाले सबै भन्न मिल्दैन ।’