काठमाडौं, २० जेठ । हजारौँ नेपाली कामदार रहेको दक्षिण कोरियामा डरलाग्दो रोगको भाइरस फैलिएपछि आतंक मच्चिएको छ । प्राणघातक भाइरस तीव्र रुपमा फैलिएपछि सिओलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ ।
कोरियामा मिडिल इस्ट रेस्पिर्याटोरी सिन्ड्रम (एमइआरएस)’ नामक प्राणघातक रोगको भाइरस फैलिएको हो । यो भाइरसबाट दुई जनाको ज्यान जानुका साथै २५ जना प्रभावित भएको बताइएको छ । यसैगरी, यो भाइरस लागेका व्यक्तिसँग सम्पर्क गर्न पुगेका सात सय जना मानिसलार्इ चिकित्सकले निगरानी गरिरहेको संचारमाध्यमहरुले जनाएका छन् ।
यो रोगको संक्रमण भए उपचार प्रक्रिया जटिल रहेकाले संक्रमण हुनसक्ने स्थलबाट टाढा बस्न नेपाली समुदायलाई दूतावासले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
यो भाइरसको संक्रमबाट बँच्न धेरै भीडभाड हुने स्थानमा सकेसम्म नजान, सम्भव भएसम्म मास्क लगाउन र भेट हुने व्यक्तिसँग सकेसम्म हात नमिलाई मुखले बोलेर अभिवादन गर्न दूतावासले आग्रह गरेको छ । साथै, सामान्य अबस्था बाहेक नाकबाट पानी बग्ने, खोकी लाग्ने, दम बढ्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न दूतावासले अपिल गरेको छ ।
सन् २०१२ मा पहिलोपटक साउदी अरबमा देखिएको यो भाइरसले करिब ५ सय जनाको ज्यान गएको थियो । खाडी मुलुकबाट गएका ६८ वर्षीय नागरिकबाट यो रोग कोरिया भित्रिएको अनुमान गरिएको छ ।
प्राणघातक भाइरस फैलिएपछि कोरिया सरकारले सचेतना अपनाउन आफ्ना नागरिकहरुलाई अपिल गरेको छ । यसको सबैभन्दा ठूलो मार नेपाली लगायतका आप्रवासी कामदारलाई पनि पर्ने देखिएको छ । किनकी कामदारहरु ठूलो संख्यामा एकै ठाउँमा बस्ने, खाने र सुत्ने गर्छन् ।
कोरिया सरकारले विदेशीहरुमाथि कडा निगरानी बढाएको छ भने कोरियास्थित दूतावासहरुलाई पनि आफ्ना देशका नागरिकहरुलई सचेत गराउन आग्रह गरेको छ ।


















प्रतिक्रिया