काठमाडौं, २० जेठ । नेपाली लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितलाई बुधबार सिंहदरबारमा आयोजित बिदाई कार्यक्रममा आईस एक्स (हिउँ बञ्चरो) तथा राष्ट्रिय झण्डा प्रदान गरियो ।
विश्वका सात महादेशका सातै सर्वोच्च शिखरहरुको आरोहणको तयारीमा रहेका पण्डित अब उत्तर अमेरिकाको सवोच्च शिखर माउण्ट डेनाली आरोहणको शिलसिलामा रहेका छन् ।
नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा, पूर्व सांसद मुक्ति प्रसाद शर्मा पण्डित, राखेपका पूर्व उपाध्यक्ष पिताम्वर तिमल्सिना, विद्यार्थी नेता विजय विराज विष्ट लगायतले आईस एक्स, नेपालको राष्ट्रिय झण्डा र खादा ओडाएर विदाई तथा हस्तान्तरण गरियो ।
देश भूकम्पको शोकमा डुबिरहेका बेला शोकलाई शक्तिमा बदल्नको लागि उत्तर अमेरिकाको सर्वोच्च शिखरबाट नेपालमा परेको महाविपत्तिलाई सकारात्मक रुपमा पण्डितले संसारभर फैलाउने कुरामा आफू विश्वस्त रहेको गृहमन्त्री गौतमले जानकारी दिए । यसैगरी थापा, शर्मा, तिमल्सिना र विष्टले पण्डितको आरोहणको सफलताको कामना व्यक्त गरे ।
धावक आरोही पण्डितले यस अघि एसियाको सगरमाथा, मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको उच्च शिखर माउण्ट एलव्रुस, अष्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकान्कोगुवा सफलता पूर्वक किर्तिमानी आरोहण गरिसकेका छन् ।
पण्डितले भने अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अवस्मरणीय दुखित क्षण मानी रहेको छु, भूकम्पबाट मारिएकाको सम्झना प्रति यो आरोहण समपर्ण गर्ने कुरा बताए । उनी भोली न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् ।
















प्रतिक्रिया