म्याग्दी, २० जेठ । प्रकृति पूजाका रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन विगतमा झैँ यो वर्ष पनि म्याग्दीको दग्नाम गाविसमा दुई गाउँबीचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको छ ।
दग्नामको भुमे पूजाको पहिचानका रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छीगाउँले सहभागिता जनाएका थिए ।
प्रकृतिको पूजास्वरुप मङ्गलबार दग्नाममा भुमेपूजा पर्वका अवसरमा दुई गाउँका स्थानीयले मुन्का डाँडामा ध्वजा पताकाले सिँगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए । स्थानीय पुख्र्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवका बीच स्थानीयले मङ्गलबार बिहान भुमे देवताको पूजा गरेपछि दिउँसो भुमेदेवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएका हुन् ।
रमाइलोसँगै गाउँको प्रतिष्ठालाई जोडेर हेर्ने भएकाले दुवै गाउँका स्थानीयले निकै मेहनत गरी अग्लाअग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा ल्याएको भए पनि यो वर्ष कान्छी गाउँले लिङ्गो जुधाइको जित आफ्नो पक्षमा पारेको एकता युवा क्लब दग्नामका अध्यक्ष गुनपुन गुञ्जनले जानकारी दिनुभयो ।
जेठा भुमेका रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढीपहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भनी स्थानीयवासीको सुस्वास्थ्यको कामना गर्दै पुर्खांैदेखि भुमे देवताको पूजा गर्दै आएको भुपु दग्नाम गाविस अध्यक्ष गमबहादुर पाइजाले बताउनुभयो ।
दग्नामवासीको महत्वपूर्ण पर्व भएकाले भुमेपूजा पर्व मनाउन देश तथा विदेशमा रहेका स्थानीयवासीसमेत घर फर्कने हुँदा यो पर्वले आफन्तको जमघट गराउने महत्वपूर्ण माध्यम बनेको छ । भुमे पूजाका अवसरमा लिङ्गो जुधाउने संस्कृतिले स्थानीयवासीलाई पुख्र्याैली संस्कृतिको संरक्षणमा जागरुक बनाएको स्थानीय समाजसेवी खमवीर गर्बुजाले बताउनुभयो । रासस















प्रतिक्रिया