– यज्ञप्रसाद सापकोटा
बर्दिया,२० जेठ । बर्दिया जिल्ला आगामी जेठ २९ गते तराई कै पहिलो खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुने निश्चित भएको छ ।
जिल्लाका सम्पुर्ण गाविस र नगरपालिका खुल्ला दिसा मुक्त भई क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुगमन गरी अनुमति प्रदान गरे पछि खुल्ला दिसा मुक्त घोषणा हुने निश्चित भएको हो ।
मंगलबार बसेको क्षेत्रीय स्तरको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले बर्दिया जिल्ला खुल्ला दिसा मुक्त घोषणा गर्न योग्य भएको भन्दै अनुमति प्रदान गरेपछि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुन लागेको हो ।
बर्दिया जिल्लामा अन्तिमपटक गत जेठ ११ गते गुलरिया नगरपालिका खुल्ला दिसा मुक्त घोषणा भएको थियो । त्यसको लगत्तै गत जेठ १३,१४ र १५ गते क्षेत्रिय अनुगमन टोलीले बर्दियाका जिल्लाको सरसफाईको अवस्थाको बारेमा अनुगमन गरेको थियो । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा सँगै बर्दिया जिल्ला पहिलो तराईको खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुने भएको हो ।
‘हामी तराईकै पहिलो जिल्ला हुने भएका छौँ ।’ स्थानीय विकास अधिकारी तथा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाका अध्यक्ष डिल्लिराम सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो बर्दियालाई पहिलो तराईको खुल्ला दिसा मुक्त जिल्ला बनाउन ठूलो चुनौतीको कार्य थियो हामीले सबैले यो चुनौतीलाई सामना गरेर अगाडी बढेका हौँ ।
अहिले बर्दियामा खुल्ला दिसा मुक्त समारोहको लागि तयारी भईरहेको छ । हाल सम्म प्रमुख अतिथि र अतिथि चयन, बजेट र जिम्मेवारी बाँडफाँड लगाएतको काम सकिएको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव अर्जुनकुमार बमले बताउनुभयो ।















प्रतिक्रिया