
– सन्दिप भट्ट
चितवन, १२ जेठ । पदमपुर ५ का डण्डपानी उपाध्याले लगाएको केरा व्यापारीले १७ गते किन्नका लागी हेरेर गएका थिए । १७ गते उनको हातमा २ लाख भन्दा बढी रुपैंया पर्ने वाला थियो । त्यसो त उनले एक साता अघि पनि ५५ हजार परेको थियो ।
उनले एक साताअघि १ सय ७२ घरी केरा बेचेका थिए । उनले लगाएको १० कट्ठा बराबरको केराबाट उनले बार्षिक २ लाख बढी बचत गर्ने गरेका थिए । तर डण्डपानीले १७ गते बेच्नका लागी बोटमा तयारी अवस्थाको केरा हिजो साँझ आएको हावाहुरीले सखाप पारीदियो ।
उनले लगाएको ९ सय ५२ वोट केरा मध्ये अहिले ५२ वोटमात्र ठाडा देखीन्छन् । ‘राती ८ बजेको समयमा ठुलो हावाहुरी आयो, केरा ढाल्यो कि भनेर रातभर पेट भतभती पोलेको थियो ।’ रुन्चे स्वरमा पीडा पोखे, – ‘विहान आएर हेर्दा त सव सखाप भएछ, बेच्नका लागी बैना लगाएर राखेको केरा सवै हावाहुरीले ढालिदिएछ ।’ न

नेपाल आर्मीबाट अवकाश प्राप्त भएर केरा खेतीमा लागेका डण्डपानी छिमेकीहरु सबैले केरा खेती गरेको देखेर केरा खेती गरेको बताए । ‘के गर्नु सर, विहान आएर हेर्दा त सबै केरा ढलेको रैछ मन थाम्नै नसकेर रोएर गए ।’ –उनले भने ।
जेठ ११ गते सोमबार राति आएको हावाहुरीका कारण चितवनमा व्यवसायिक रुपमा लगाइएका केराहरु ढलेका छन् । उक्त हावाहुरीले चितवनमा ८० प्रतिशत भन्दा बढी केराहरुमा क्षति पुर्याएको केरा किसानहरुले बताएका छन् । हावाहुरीले पूर्वी चितवनमा लगाइएको केरा खेतीलाई बढी नोक्सान पुर्याएको छ ।
पदमपुरमा मात्रै ९० प्रतिशत सम्म केरा ढलेका छन् । हावाहुरीले केरा खेती नष्ट गराएको अवस्थामा केराको विमा गरेका किसानले उनीहरुको लागतको ९० प्रतिशतसम्म रकम पाउने चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्थले बताए ।
चितवनमा पाँच सय २५ जना व्यवसायीक केरा किसान भएपनि हाल ३३ जनाले मात्र विमा गरेका पन्थले बताए । चितवनमा दुई हजार बिघाहा क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिएकोमा एक सय २० विघाहा क्षेत्रफलको केरा मात्र विमा भएको पन्थले बताए ।
पूर्वी चितवनको पदमपुरमा मात्रै सात सय विगाहा क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिदै आएको छ । पदमपुरमा दुई सय ५० किसानका केरा खेती नष्ट भएको बताइएको छ । सोमबार आएको हावाहुरीका कारण पूर्वी चितवनका तीन सय केरा किसान प्रभावित भएको चितवन केरा उत्पादक संघले जनाएको छ ।
केरा खेतीको विमा गरिएको अवस्थामा एक विघाहा केरा खेतीमा क्षति पुगेको खण्डमा दुई लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति पाइने जिल्ला कृषि विकास कार्यालयका बाघबानी विकास अधिकृत धनबहादुर थापाले बताए ।
केरा किसानले विमा आफ्नो खेती विमा गरेको अवस्थामा सरकारको तर्फबाट विमाङ्क रकमको ७५ प्रतिशत रकम व्यहोर्ने र बाँकी २५ प्रतिशत रकम किसानले तिर्नुपर्ने थापाले बताए । हावाहुरीका कारण वर्षेनि किसानहरु मर्कामा पर्ने भएका कारण किसानलाई आफ्नो खेती विमा गर्न थापाले सुझाव दिए ।
कृषि कार्यालयबाट तालिम दिँदा प्रत्येक तालिममा विमा सम्बन्धी तालिम राखिने गरेको भए पनि किसनहरु विमा तर्फ आकर्षित हुन नसकेका थापाले बताए । त्यसैगरी पदमपुर गाविस सचिव रमा आचार्यले गाविसको बजेटले कृषिमा लगानी गर्न नपुग्ने बताइन् । कृषिको लागि जिल्लाबाट नै लगानी हुनुपर्ने आचार्यको भनाइ थियो ।
करिब तीन वर्ष अगाडि ६९ सालको भदौ २९ गते आएको ठूलो हावा हुरीका कारण पनि चितवनमा दुई सय विगाहा केरा खेतीमा क्षति पुगेको थियो । त्यो समयमा केरा किसानलाई करिब सात करोड रुपैयाँ क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।















प्रतिक्रिया