१६ कार्तिक २०८३, सोमबार

एमाले कार्यकर्ताले भरे पीडितको मूहारमा खुसी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-paudel

– रमेशप्रसाद तिमल्सिना
ललितपुर, ११ जेठ । चापागाउँको प्याङ्गाउँ बसपार्क आसपास मानिसको भीडभाड प्राय हुन्छ नै । जेठ ११ गते देखिएको भीड भने अलिक फरक छ । बसपार्कमा सदाझैं बसहरु आउने जाने क्रम चलिरहेको छ । मोटरसाइकल पनि आइजाइ गरिरहेका छन् ।

बसपार्कबाट एक हुल मान्छे पहेंला टोपसहित डाँडागाउँतिर लम्के । लस्करै मोटरसाइकलमा पहेंला टोप लगाएका मानिस सैनिक अभ्यासका लागि खडा भएका जवानझैं देखिए । चुनाव नजिकिँदैको समयमा झैं पार्टीका जिल्लादेखि स्थानीयस्तरका नेता कार्यकर्ता पनि त्यो भीडभित्रै छन् । किन यत्तिका मान्छेहरु जम्मा भएका होलान् ? चापागाउँ डाँडागाउँका नागरिकहरु अलमलमा छन् । कोही केटाकेटी हातमा डोहोर्‍याउँदै रमिता हेर्न पनि आएका छन् ।

‘कोही नेता आउँदैछ जस्तो छ ।’-भीडमा कसैले भन्यो । नेतालाई स्वागत गर्न फूलमाला, अवीर, खादा वा अन्य यस्तै केही थिएन । त्यहाँ त खन्ती, गल, हम्मर, करौंती, ह्याक्सो, बाँस र डोरी लगायतका सामग्रीहरु थिए । जेठ ११ गते विहान चियाको सुर्को सँगै पूर्व मन्त्रीसमेत रहेका एमालेका उपमहासचिव विष्णु पौडेल सरकारी गाडीमा त्यहाँ आइपुगे ।

त्यहाँ एमाले नेता पौडेलको नेतृत्वमा बैशाख १२ गते आएको भूकम्पबाट पीडित बनेकाहरुको घरटहरा निर्माण गर्न जम्मा भएको भीड रहेछ त्यो । एमाले नेता पौडेल गाडीबाट ओर्लिए । उनी एमाले नेता एवम् पूर्व मन्त्री हुने कि होइनन् एकैछिन त कार्यकर्ता नै अलमलमा परे ।

टिसर्ट र हाफ पाइन्टमा आएका पौडेलले भने–‘अहिलेको एक मिनेट पनि काम गरेर विताउने बेला हो । भाषण छाँट्ने बेला होइन ।’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने–‘तपाईहरु एक मिनेट पनि वित्थामा खेर नफाल्नु होला । एकै ठाउँमा भीड नगर्नुहोला । फटाफट जनताको काम गर्नुहोस् ।

जनतालाई दुःख दिने काम केही पनि नगर्नुहोस् ।’ चापागाउँमा एमाले नेतृत्वले भूकम्पबाट पीडित बनेका अति निम्नस्तरीय सर्बसाधारणका घर बनाउने कार्यक्रम रहेको स्थानीय एमाले कार्यकर्ता महेश श्रेष्ठले जानकारी दिए । यस्तो कार्यक्रम ललितपुरको क्षेत्र नं १ भरी गर्ने क्षेत्रीय अध्यक्ष चेतनाथ सञ्जेलले जानकारी दिए ।

uml (2)स्थानीयहरुको अनुहार खुसीले धपक्कै छ । भूकम्पको पीडा त कता हो कता गायब ! स्थानीय मुकुन्द थापाले भने–‘हामीले गएको चुनावमा भोट दिएको पार्टीले वास्ता गरेन । उहाँहरु आउनुभयो । मेरै घरमा काम थाल्नु भयो । साँच्चै दुःखमा साथ दिनुभएको छ । बखतमा ऋण चुक्ता गरौंला ।’

थापाले थप जोड दिँदै भने–‘ज्यालामा लगाएका खेतालाले धुलो मैलोको कुरा गर्छन् पूर्व मन्त्रीसमेत बनेका एमालेका नेताहरु काममा लागेको देखेर मेरो मन लोभियो । यत्तिका काम त कसैले पनि गर्दैन । धुवाँधुलोको कुनै परवाह गर्नुभएको छैन ।’ डाँडागाउँमा एमाले नेता पौडेल, जीतु गौतम दर्जी, शुसीला नेपाल, गणेश विकेलगायतका नेताहरुसँगै अभियानमा एमालेका कार्यकर्ता कम्मर कसेर काममा लागि परेका छन् ।

भूकम्पका कारण भौतिक संरचना क्षति हुँदा घरले थिचिएर यहाँका रितबहादुर थापाको मृत्यु भयो । चापागाउँमा मात्रै ८ जनाको मृत्यू भएको छ भने कच्ची घर सबै ध्वस्त भएका छन् भने अन्य अधिकाँश घर बस्न लायक छैनन् । छिमेकी थापाको निधनले शोक विव्ह्वल रहेको डाँडागाउँ आश्रयस्थल माटोमै मिल्दा झनै विव्ह्वल बनेको थियो । तर, जेठ ११ गतेबाट स्थानीय व्यक्तिहरुको बास जस्ताको टहरामुनी हुने भएपछि गाउँमा खुसी नै खुसी छ ।

यस्तो खुसी यो गाउँमा मात्र होइन देशभरका भूकम्पपीडितको मूहारमा ल्याउन सबै राजनीतिक दलहरु पार्टीगत स्वार्थ छाडेर लाग्नु आवश्यक छ । जाँदाजाँदै मुकुन्द थापाले भने–‘एमालेले गरेको जस्तो अरुले पनि गरुन । ढिलै भएपनि अरुको बुद्धिको बिर्को खुलोस् ।’

uml3uml (1)