काठमाडौं । राजधानीको टुँडिखेलमा महिला सुरक्षित स्थान (स्नेह केन्द्र) लेखिएको खैरो पालभित्र ढोकाको भिड पन्छाउँदै अभिनेत्री मनीषा कोइराला भित्र पसिन् । भित्र १० जना महिला काखमा बच्चा च्यापेर बसिरहेका थिए । एकछेउमा खोटाङकी नमुना किराँती डेढ वर्षको छोरा आडमा सुताएर टोलाएर बसेकी थिइन् । कोइरालाले कालो चस्मा टाउकोमा राख्दै उनको छेवैमा गएर सोधिन्, ‘तपाईंको नाम के हो ? तपाईंका समस्या केके छन् ?’रक्षा सामग्री राखिएको निलो बकेट मनिषाले खोलिन् । महिलाका लागि चाहिने सामान, कपडा र बच्चाका खेल सामग्री एकाएक राखिदिइन् । भनिन्, ‘केके चाहिन्छ ? राम्रो छ छैन ? हेर्नुहोला है !’
बालाजुमा डेरा गरी बसेको घर भत्किएपछि नमुना अहिले पालमा आश्रय लिइरहेकी छन् । कुनै पनि संस्थाबाट आएको सामान नपाएको उनको गुनासो छ । ‘जसको पहुँच छ उसैले पाउने रहेछ,’ मनीषासामु उनले आग्रह गरिन्, ‘व्यक्तिगत तरिकाले केही दिनुहुन्छ भन्ने आश छ ।’
नमुनाले आफ्नो लागि सामान पाएपछि ‘बच्चालाई के छ ?’ भनेर सोधिन् । बच्चाका लागि पनि सामग्री पाएपछि उनी मुस्कुराइन् । अर्को समय आउँदा सफा लुगा लगाउन र बच्चालाई सफा पारेर राख्न मनीषाले सुझाव दिइन् ।
सामान लिइसकेपछि उज्यालो अनुहारमा नमुनाले मनीषातिर हेर्दै भनिन्, ‘तपाईं नेपाली हो ?’
‘म नेपाली त हो नि ।’
‘तपाईंको नाम के हो ?’
‘मनीषा कोइराला ।’
‘नेपालको कुन संस्थाबाट आउनुभएको ?’
‘म युनएफपिएबाट आएकी हुँ ।’
अनि पो नमुना दंग परिन् र भनिन्, ‘मनिषा कोइराला ! नाम त सुनेकी थिएँ । आज देख्न पाइयो ।’
मनीषाले संख्या सोधेपछि महिलाहरूले २० वटा झुल र डाइपर माग गरे । उनले ल्याइदिने बचन दिइन् ।
‘तपाईंको बच्चा कति महिनाको हो ?’ मनीषाले रेनुलाई सोधिन् ।
‘तीन महिनाको भयो ।’
‘तपाईंको घर कहाँ हो ?’
रेनुले जवाफ दिइन्, ‘काभ्रे ।’
‘म भोलि तपाईंको काभ्रे जाँदै छु ।’
जाने बेला सान्त्वना दिँदै उनले भनिन्, ‘केके चाहिन्छ भन्नुस् है म आइरहन्छु ।’
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सद्भावना दूतका रूपमा मनीषा भूकम्पबाट प्रभावित सुत्केरी महिलाका लागि ‘डिग्निटी किड’ (रक्षा सामग्री) बाँड्न आइपुगेकी हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
















प्रतिक्रिया