५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई प्रदीप पौडेलले गोरखामा ५३ घर बनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghar 2

– निर्मल अर्याल
गोरखा, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा मंगलवार तथा बुधवार गरी गोर्खाको पालुङटार – ८ स्थित उपल्लो मालतीगैरा गाँउमा ५३ वटा अस्थायी घर निर्माण गरिएको छ ।

उपत्यकामा रहेका नेपाल इन्जिनियरिङ कलेज, कसमस इन्जिनियरिङ कलेज, काठमाडौ इन्जिनियरिङ कलेज, ग्रामीण आदर्श बहुमुखी क्याम्पस, मनोहर क्याम्पस लगायतमा अध्ययनरत इन्जिनियर तथा स्वयंसेवक सहित करीब दुई सय जनाको पहलमा अस्थायी घर टहरा निर्माण गरिएको हो ।

यसका लागि काठपात, माटो, छ्वाली, तथा बाँसको जोहो स्थानीय बासिन्दाले गरेका थिए भने जस्तापाता, किला, काँटा सहित अन्य अत्यावश्यक सामग्री विभिन्न दाताहरुको पहलमा जुटाइएको थियो । प्रति टहर एक बण्डल जस्तापाता हाल बेलायतको टनब्रिज निवासी समाजसेवी अनिल आचार्यले उपलब्ध गराउनु भएको पौडेलले जानकारी दिनुभयो ।

ghar 1

‘महाभूकम्प प्रभावित जिल्लाहरुमा ५ सय अस्थायी घर टहर निर्माण गर्न आफनो सार्वजनिक घोषणा अनुसार पहिलो चरणमा गोर्खामा काम सम्पन्न गरिएको हो ।’ नेविसंघका पुर्व केन्द्रिय अध्यक्ष समेत रहनु भएका पौडेलले भन्नुभयो ।

महाभूकम्प प्रभावितहरुको लागि अस्थायी आवास निर्माण गर्नका लागि श्रमदान गर्न पाउँदा आफुहरुलाई आत्मसन्तोष मिलेको नेविसंघका नेता सुशील भट्ट बताउँछन् । त्यस्तै कसमस कलेजबाट इन्जिनियरिङको पढाइ पुरा गरेका सन्तोष कुँवर पनि आफनो सैद्धान्तिक तथा व्यवसायीक ज्ञान महाभुकम्प पीडितहरुको लागि उपयोग गर्न पाउँदा गौरवान्वित भएको बताउँछन् ।

विहिवारबाट धादिङ, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट ,काभ्रे, दोलखा, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा अस्थायी टहरा निर्माणको सम्भाव्यता अध्ययन गर्न इन्जिनियरहरुको एक टोली खटाइने र लगत्तै काम थालिने पौडेलले बताउनुभयो ।

यसैबीच गोर्खाको पालुङटार – ८ स्थित उपल्लो मालतीगैरा गाँउका करीब ९० जनालाई हेल्प नेपाल नेटवर्कका प्रतिनिधिका रुपमा आर्किटेक्ट इन्जिनियर विना पाण्डेले राहतका सामाग्री तथा लुगा कपडा उपलब्ध गराउनु भएको छ । पाण्डेले पनि पौडेल नेतृत्वको टोलीमा रही अस्थायी घर टहर निर्माण गर्नु भएको थियो ।