जुम्ला, ६ जेठ । जुम्लाको कुडारी गाविस ६ र ७ मा पहिलो पटक बिजुली बलेपछि नुवाकोट गाउँवासी खुसी भएका छन् ।
गरिबी निवारण कोषको आर्थिक सहयोग र दिगो तथा न्यायोचित विकास प्रतिष्ठान जुम्लाको साझेदारीमा आव ०७१/०७२ साउनको दोस्रो सातबाट सुरु भएको नाङ्खोला लघुजल विद्युत् आयोजना जेठ ४ गते सम्पन्न भएको निर्माण समितिका अध्यक्ष जयकृष्ण चौलागाईंले जानकारी दिनुभयो ।
सदियौँदेखि अन्धकारको जीवन गुजारी रहेका नुवाकोटवासीको गाउँमा बत्ती बलेपछि खुसीको सीमा नरहेको अध्यक्ष चौलागार्इंले थप्नुभयो ।
सेडा नेपाल जुम्लाका सामाजिक परिचालक बखतबहादुर हमालका अनुसार ४९ लाख ९७ हजार ५०० गरिबी निवारण कोष, रु १५ लाख कुडारी गाविस र ११ लाख श्रमदानबाट उक्त आयोजनाको निर्माण भएको हो ।
करिब १९ किलोवाट क्षमताको लघुजलविद्युत्बाट नुवाकोट गाउँका १८० घरधुरीका ८०० भन्दा बढी जनता लाभान्वित हुने आयोजना निर्माण समितिका सचिव दले नेपालीले जनाउनुभयो ।















प्रतिक्रिया