५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई नेपाल प्रहरीले राहत दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-police

काठमाडौं, ५ जेठ । गत बैशाख १२ गते आएको बिनाशकारी भूकम्प र त्यसपश्चात आएका पराकम्पनहरुबाट पीडित बनेको भूकम्प पीडितलाई नेपाल प्रहरीले सहयोग गर्ने भएको छ ।

प्रभावित भई मानवीय तथा भौतिक क्षति पुगी पीडित हुन पुगेका वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषबाट राहत सहयोग प्रदान गर्ने प्रहरी प्रधान कार्यालयले मंगलबार बिज्ञप्ती प्रकाशित गरी जनाएको हो ।

बिज्ञप्तीमा जनाइएअनुसार बिनाशकारी भूकम्पको कारणबाट मृत्यु भएका प्रत्येक वहालवाला प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट नगद ३ लाख रुपैयाँ राहत सहयोग गरिने, भूकम्पबाट वहालवाला प्रहरी कर्मचारीका आश्रित परिवार (श्रीमान, श्रीमती, बाबु, आमा, छोरा, छोरी) को मृत्यु भएकोमा निजहरुको काजक्रिया खर्चबापत प्रतिपरिवारलाई नगद २५ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिने र भूकम्पबाट सेवानिबृत्त प्रहरी कर्मचारीको मृत्यु भएकोमा निजको आश्रित परिवारलाई नगद १ लाख रुपैयाँ राहत सहयोग प्रदान गरिने छ ।

यसैगरी बिनाशकारी भूकम्पबाट बस्न नमिल्ने गरी पूर्णरुपमा घर क्षती भई घरवारविहिन भएका प्रहरी कर्मचारीहरुलाई
तत्काल राहत उपलव्ध गराउन क्षतिको मूल्याङ्कन गरी मापदण्ड शर्त तथा प्रक्रिया निर्धारण गरी पूर्ण क्षति भएका प्रतिघरको लागि नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ ।

यसैगरी बिनाशकारी भूकम्पबाट बस्न नमिल्ने गरी पूर्णरुपमा घर क्षति भई घरवारविहिन भएका प्रहरी कर्मचारीहरुलाई घर निर्माण सहयोगको लागि क्षतिको मूल्याङ्कन गरी मापदण्ड, शर्त तथा प्रक्रिया निर्धारण गरी २ वर्षभित्र किस्तावन्दीमा तलवबाट रकम कट्टा गरी बुझाउने गरी प्रहरी कल्याण कोषबाट कार्यप्रगतिको आधारमा किस्तामा अधिकतम १ लाख रुपैयाँसम्म विशेष निब्र्याजी तलव सापटी प्रदान गरिने भएको छ ।

साथै बिनाशकारी भूकम्पबाट आँशीकरुपमा घर क्षति भई पीडित हुन पुगेका वहालवाला प्रहरी कर्मचारीलाई घर मर्मत सहयोगको लागि क्षतिको एकिन गरी निर्धारण गरिएको मापदण्ड शर्त तथा प्रक्रिया पुरा गरी घर मर्मतको लागि २ बर्षभित्रमा तलवबाट कट्टा गरी बुझाउने गरी प्रहरी कल्याण कोषबाट कार्य प्रगतिको आधारमा किस्तामा ५० हजार रुपैयाँसम्मको विशेष निब्र्याजी तलव सापटी प्रदान गरिने बिज्ञप्तीमा जनाइएको छ ।

यसैगरी बिनाशकारी भूकम्पको कारणबाट मुख्य अभिभावक गुमाउने तथा गम्भीर घाइते भई पूर्णरुपमा असक्त भएका वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीका छोराछोरीहरुलाई उच्च माध्यामिक तहसम्म अध्ययनको लागि बिनाशकारी भूकम्प पीडित प्रहरी छात्रवृत्ति कोष स्थापना गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ ।

बिनाशकारी भूकम्पबाट मानवीय तथा भौतिक क्षति भई पीडित हुन पुगेका प्रहरी कर्मचारीहरुलाई क्षतिको गाम्भीर्यता मूल्याङकन गरी घरब्यवहार मिलाउन निजको घरपायक स्थानमा कम्तीमा ६ महिनाको लागि आवश्यकता अनुसार सरुवा वा काज खटाउने व्यबस्था मिलाइने छ । यदि श्रीमान श्रीमती दुबैजना प्रहरी कर्मचारी भए दुबैजनालाई घरपायक स्थानमा काजमा खटाइने व्यवस्था गरिने जनाइएको छ ।

बिनाशकारी भूकम्पबाट पीडित प्रहरी कर्मचारीहरुलाई नेपाल सरकार तथा प्रहरी संगठनबाटसमेत बिभित्र राहत कार्यक्रमहरु घोषणा भएको अवस्थामा सूचना संकलन तथा सम्प्रेषण गरी पीडित प्रहरी तथा सेवानिवृत्त प्रहरीलाई राहत वितरण कार्यमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय तथा मातहत महानगरीय प्रहरी परिसरहरु तथा जिल्ला प्रहरी कार्यालयहरुमा भूकम्प पीडित प्रहरी सहयोग समन्वय डेस्क खडा गरी कार्य संचालन गरिने छ ।