नुवाकोट, ४ जेठ । भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन विश्व स्वयंसेवी कार्यक्रमको सहयोगमा पोषणयुक्त आहार लिटो वितरण गरिएको छ ।
नेपालका भूकम्प पीडित बालबालिकाहरुको कुपोषण विरुद्ध विश्व स्वयंसेवी कार्यक्रम अन्तर्गत केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानका पोषण विज्ञानका विद्यार्थीहरुको समिति ‘भूकम्प पीडित बालबालिका लागि राहत कार्यक्रम’ले अन्य सहयोगीहरुको समेत सहयोगमा आइतबार नुवाकोटमा बालबालिकाहरुलाई लिटो वितरण गरेको हो ।
उनीहरुले सो लिटो नेपालका पोषणविद तथा डाईटिसियनहरुको संगठन ‘नाडा’ मार्फत नुवाकोटको थानपति, सेच्यूटार, तामांग गाऊँ र पिपलबोटेका बालबालिकालाई वितरण गरेका थिए ।

उनीहरुले १ केजी लिटोको प्याकेट बनाई बालबालिकालाई खुवाउने तरिका समेत सिकाएर सो गाऊँका ४ सय ८० जना बालबालिकालाई लिटो वितरण गरेका थिए । समितिका अध्यक्ष सुप्रभा श्रेष्ठका अनुसार लिटोमा गहुँ ६४.५ प्रतिशत, भट्मास १८ प्रतिशत, चिनी १४ प्रतिशत, भिटामिन्स १.५ प्रतिशत र दुध २ प्रतिशत समावेश गरिएको छ ।
सो लिटो उनीहरुले सुनसरीको न्यूट्री फुड कम्पनीमा तयार गरेका हुन् । पोषिलो आहार लिटो बनाई भूकम्प पीडित बालबालिकाहरु समक्ष पुर्याउन नेपालका भूकम्प पीडित बालबालिकाहरुको कुपोषण विरुद्ध विश्व स्वयंसेवी कार्यक्रम अन्तर्गत नेपाल साउदी हेल्पिंग हैण्डस र अमृत सृजनशील समाज धरान १५ ले आर्थिक सहयोग गरेका थिए ।
त्यसैगरी उनीहरुलाई प्राविधिक तथा यातायात सहयोग केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरान र पोषण विज्ञान संकायका विभाग प्रमुख डम्बरबहादुर खड्काले गरेका थिए ।

यसै सम्बन्धमा नेपालका भूकम्प पीडित बालबालिकालाई कुपोषणबाट जोगाउन विश्वव्यापी अभियान समेत संचालन गरिएको छ । नेपालका भूकम्प पीडित बालबालिकाहरुको कुपोषण विरुद्ध विश्व स्वयंसेवी कार्यक्रमका विश्व संगठनका संरक्षक तथा अभियन्ता डा. कविताराम श्रेष्ठका अनुसार पोषण विज्ञानका विद्यार्थीहरुको समिति मार्फत थप प्रभावकारी रुपमा कार्य गर्न नेपाल रेडक्रस सोसाईटी सुनसरीसंग सहकार्य समेत गर्न लागिएको छ ।
नेपालका बालबालिकालाई कुपोषणबाट जोगाउन विश्वभर छरिएर रहेका नेपालीहरु मार्फत सहयोगका लागि हातेमालो कार्यक्रम थाल्नी गरिएको छ । सो कार्यका लागि अष्ट्रेलिया निवासी ईञ्जिनियर रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालका बालबालिका लागि पोषण कार्यक्रम विश्व संगठन समेत गठन गरिएको छ ।

















प्रतिक्रिया