
काठमाडौं, ४ जेठ । आगामी असार मसान्तसम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाइएको छ ।
सरकारले उक्त अवधिसम्म नयाँ भवन निर्माणको अनुमति नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि भवन आचारसंहिता लागू गर्ने उद्देश्यले नयाँ भवन निर्माणका लागि सरकारले तत्कालका लागि रोक लगाएको हो ।
उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीप्रकाशमान सिंहले मन्त्रिस्तरीय निर्णयअनुसार सबै नगरपालिका र गाविसलाई भवन निर्माणका लागि अनुमति नदिन निर्देशन दिनुभएको हो । मन्त्रालयले भवन आचारसंहिता बनाउँदै गरेकाले तत्कालका लागि असार मसान्तसम्म नयाँ भवन बनाउन अनुमति नदिने स्पष्ट पारेको छ । भवन आचारसंहिता पालना नगरेकै कारण भूकम्पले जनधनको ठूलो नोक्सानी पु¥याएको सरकारले ठहर गरेको छ ।
स्थानीय विकास मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भवन निर्माणका लागि यसअघि अनुमति पाइसकेकाहरूका हकमा पनि यो निर्देशन लागु हुने उल्लेख गरिएको छ । यद्यपि भवन आचारसंहितालाई ध्यानमा राखेर भूकम्प प्रतिरोधात्मक दुईतले घर भने बनाउन पाइने विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ । त्यस्तो नयाँ भवन बनाउँदा सरकारले तोकेको मापदण्डअनुरुप भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री हुनुपर्ने स्पष्ट पारेको छ । रासस















प्रतिक्रिया