महेन्द्रनगर, ३ जेठ । गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्पबाट विस्थापित एक परिवारलाई कञ्चनपुरका मानवअधिकारकर्मीहरुले राहत सहयोग गरेका छन् ।
भूकम्पले सिन्धुपाल्चोकबाट विस्थापित भएर कञ्चनपुर पुगेको नन्दमाया भारतीको परिवारलाई अधिकारकर्मीहरुले सहयोग संकलन गरी विहीबार सदरमुकाम महेन्द्रनगरमा राहत प्रदान गरेका हु्न् ।
भारतीको परिवारले महाभूकम्पबाट सिन्धुपाल्चोकको दुवाचौर– ६ मा रहेको घर र धनसम्पत्ति सबै गुमाएका थिए । सिन्धुपाल्चोकबाट विस्थापित भएर भारतीको परिवार बास खोज्दै वैशाख १८ मा कञ्चनपुर पुगेको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीमा अस्थाई बसोबास गरिरहेका भारतीको परिवारलाई मानवअधिकार निगरानी समुह कञ्चनपुरले विहीबार त्रिपाल, कम्मल, गहुँका साथै प्रभावित बालबालिकालाई कापी पेन्सील सहित अन्य सामग्री वितरण गरेको इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार मानवअधिकार निगरानी समुह र इन्सेक कञ्चनपुरले महेन्द्रनगर जेसिस, कोक्याप, ह्युपेक, स्वीट नेपाल, द्धन्दपिडित तथा एकल महिला विकास केन्द्र लगायतका संघसंस्थाहरु संग समन्वय गरी संकलन गरेको राहत भारतीको परिवार प्रदान गरिएको हो ।
मानवअधिकार निगरानी समुह कञ्चनपुरका संयोजक कृष्णसिंह देउवाको नेतृत्वमा गएको मानवअधिकारकर्मीहरुको टोलीले भूकम्प पीडित परिवारलाई राहत वितरण गरेको थियो ।















प्रतिक्रिया