काठमाडौं, ३ जेठ । भूकम्पले राष्ट्रिय विपत्ति निम्तिए पनि काग्रेसले पार्टीको महाधिवेशन निर्धारित समयमै गर्ने तयारी गरेको छ ।
विधानअनुसार आउँदो भदौ मसान्तसम्म कांग्रेसको महाधिवेशन गरिसक्नुपर्छ ।
महाधिवेशनसम्बन्धि सबै तयारी अघि बढाउने निर्णय शनिवारको पदाधिकारी बैठकले गरेको छ ।
‘तोकिएकै समयमा महाधिवशेन गर्नेगरी तयारी अघि बढाउने र यसका लागि क्रियाशिल सदस्यताको छिटो टुंगो लगाउने कुरा भएको छ’ बैठकपछि काग्रेस सममहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘राष्ट्रिय विपत्ति भए पनि समयमै महाधिवेशन गर्ने हाम्रो तयारी छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले अहिलेसम्मको अवस्थाबारे जानकारी गराएको थियो ।
२१ वटा बाहेक अन्य जिल्लाको सदस्यता छानविन सकिएको छ ।
२१ वटाको पनि आउदो असार १५ सम्म छानविन गरी अन्तिम टुंगो लगाईसक्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा भुकम्पपीडितको राहत र पुनस्र्थापनसम्बन्धमा पनि छलफल भएको कान्तिपुर दैनिकले छापेको छ ।
पदाधिकारीले जेठ महिनाभित्र अस्थायी बसोबासको व्यवस्था मिलाइसक्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
वर्षात सुरुवात भएपछि अन्य समस्या आउने भएकाले प्रभावित क्षेत्रहरुमा खाद्यान्नको पर्याप्त भण्डारणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै प्रभावित क्षेत्रमा सुरक्षा चुनौति पनि थपिन थालेकाले थप प्रबन्ध मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।















प्रतिक्रिया