२ कार्तिक २०८३, सोमबार

हिमानी भन्छिन्, ‘जनताको दुःख हेरेर बस्न सकिनँ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani-Shaha-Is-Greatधादिङ, ३ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले सरकार र राजनीतिक दलले भूकम्पपीडितलाई सहयोग गर्ला भनेर कुरेर बस्न नसकिएको बताएकी छन् ।

शनिबार तसर्पुका भूकम्पपीडितलाई राहत बाँड्न पुगेकी शाहले नागरिकको दुःख हेरेर बस्न नसकिएकाले आफूले सकेको सहयोग गरेको बताइन् ।

उनले भनिन्, ‘सरकार र पार्टीले केही गर्ला भनेर नागरिकका दुःख टुलुटुलु हेरेर बस्न सकिएन, त्यसैले सानो भए पनि सहयोग गरिएको हो ।’ हिमानी ट्रस्टको राहत कार्यक्रम लिएर तसर्पु पुगेकी उनले तसर्पुका वडा नम्बर ३, ४, ५, ६ र ७ का पाँच सय भूकम्पपीडितलाई जस्तापातालगायत राहत सामग्री वितरण गरेको सौर्य दैनिकले छापेको छ ।

सामान्य भेषभूषामा सर्वसाधारणमाझ पुगेकी उनले नागरिकलाई सुनाइन्, ‘जनताको यो दुःखमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको पनि समवेदना छ ।’ उनले थपिन्, ‘उहाँहरू पनि जनताको यो दुःखबाट चिन्तित होइबक्सन्छ र जनतालाई साथ दिन तयार होइबक्सन्छ ।’

लामो समयदेखि हिमानी ट्रस्टका नामबाट समाजसेवामा सक्रिय उनले थपिन्, ‘यो सानो सहयोगको सुरुआत मात्र हो, एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने पवित्र भावनाले हामी सकेको सहयोग गर्नेछौँ ।’

शनिबार उनी छोरी पूर्णिका, नन्द पुजा र शीताष्मा शाहलाई समेत लिएर तसर्पु पुगेकी थिइन् । ‘जनताको दुःखमा आफूले केही मलम लगाउने प्रयत्न गरेकी हुँ,’ उनले भनिन्, ‘सहयोगको यो सानो प्रयासमात्र हो ।’

उनले ट्रस्टले आगामी दिनमा पनि अन्य ठाउँका पीडितलाई पनि सहयोग गर्ने बताइन् । उनले भूकम्पमा परी ज्यान गुमाएका देशभरका जनताप्रति श्रद्धाञ्जली दिँदै भनिन्, ‘यो दुःखद अवस्थामा सबैले संयमता अपनाउनुपर्छ ।’

उनले भनिन्, ‘ट्रस्टले गरेको सहयोग पनि सरकार र पार्टीको काममै भएको सहयोग हो ।’ १२ र २९ वैशाखमा आएको भूकम्पमा परी तसर्पुका ९५ प्रतिशत घर भत्किएका छन् ।

भूकम्पपीडित बारीका पाटा र रुखको फेदमा बसिरहेका छन् । ‘जनताका लागि यो ठूलो राहत बन्यो,’ स्थानीय रामबहादुर तमाङले भने, ‘अब रुखमुनि रात बिताउनु पर्ने दिन हटेको छ, घर बनाउने काममा जुट्नेछौँ ।’ भूकम्पमा परी तसर्पुका तीन सर्वसाधारणले ज्यान गुमाएका छन् ।