काठमाडौं, २ जेठ । विनाशकारी भूकम्पले सरकारको केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबारका भवनहरूमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी प्राविधिक टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार रोक लगाएको छ।
सरकारको पूर्वअनुमतिबिना विदेशीहरूलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले सिंहदरबार पुनर्निर्माण विकास समितिका पदाधिकारीलाई हप्काएको अन्नपूर्ण पोष्टले छापेको छ ।
समितिका एक अधिकारीका अनुसार सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले आफूले सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त गरेको र सोही पत्रका आधारमा क्षति पुगेका मन्त्रालय तथा भवनको प्राविधिक मूल्यांकन गर्न लगाएको जबाफ दिएका थिए।
मन्त्रालयले बिहीबार समितिलाई पत्राचार गरी अमेरिकास्थित ग्लोबल फेयरनेस इनिसियटिभ भन्ने संस्थाबाट नौजना प्राविधिक (इन्जिनियर) लाई सिंहदरबारका मन्त्रालय रहेका भवनहरूको अध्ययन गर्न लगाउन निर्देशन दिएको थियो।
अमेरिकी टोलीमा समितिले आफ्ना इन्जिनियरहरू रञ्जन प्रजापति र सरोज कायस्थलाई समावेश गराएको थियो।
टोलीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद, श्रम तथा रोजगार, योजना आयोग, सामान्य प्रशासन, उद्योग, वाणिज्य, भूमिसुधार, वातावरण र अर्थ मन्त्रालयका भवन निरीक्षण गर्ने योजना थियो।
सचिव राईले आपत्ति जनाएपछि उनीहरूले प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयको ‘र्यापिड भिजुयल एसेसेमेन्ट’ (बस्न हुने-नहुने मात्र छुट्टयाउने गरी हुने प्राविधिक जाँच) गरेर फर्केका थिए।
टोलीले तीन दिन ती मन्त्रालयको प्राविधिक मूल्यांकन गर्ने र तीन दिन लगाएर प्रतिवेदन सरकारलाई दिने कार्यक्रम थियो। प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयबीच टोलीलाई अध्ययन गर्न दिइएको विषयमा विवाद परेपछि बाँकी मन्त्रालयका भवनमा अब के गर्ने भन्ने निचोडमा आगामी आइतबार प्रधानमन्त्री कार्यालयमा छलफल गरेर निधो लगाउने सहमति भएको स्रोतले बतायो।
उक्त टोलीले सिंहदरबारका अतिरिक्त भवन विभागको कार्य क्षेत्रअन्तर्गत पर्ने सबै सरकारी भवन, सरकारले अनुमति दिएका अपार्टमेन्ट, अस्पताल र धेरैजना सर्वसाधारण उपस्थित हुने विभिन्न डिपार्टमेन्ट पसल, मल आदि निरीक्षण गर्न कार्ययोजना बनाएको छ।
यसका लागि नगर विकास प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभाग र सिंहदरबार पुनर्निर्माण समितिले समन्वय गर्ने गरी टोली परिचालन गर्ने तय भइसकेको छ।















प्रतिक्रिया