काठमाडौँ, १ जेठ । नेपालमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौँ नजिक केन्द्रबिन्दु भएकाले पराकम्पनको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
गत मङ्गलबार दोलखालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएपछि आजको सबैभन्दा ठूलो पराकम्पन हो । यसअघि हिजो काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर ५.० रिक्टर स्केलको पराकम्पन गएको थियो ।
मंगलबारको शक्तिशाली भूकम्पछि जनजीवन सामान्य बन्दै गइरहेको बेला आजको भूकम्पले फेरि त्रास थपिदिएको छ । काठमाडौँका बासिन्दा भूकम्प आएपछि घरबाहिर निस्केका छन् ।
यसैबीच, दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहान ३ बजेर ३८ मिनेट जाँदा ४.१ र ४ बजेर ६ मिनेट जाँदा ४.३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पनहरु क्रमिक रुपमा कम हुँदै गएकाले अब आत्तिनुपर्ने अवस्था नरहेको केन्द्रले जनाएको छ ।













प्रतिक्रिया