काठमाडौं, १ जेठ । बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागको मूलद्वारमा बुधबार अपराह्न एकाएक कर्मचारीहरूको ठेलमठेल बढ्यो ।
भित्रका केही कर्मचारीको निर्देशनमा प्रहरीले गेट बन्द गरे अनि परिचयपत्र र त्यसको फोटोकपी देखाउनेलाई मात्रै भित्र छिर्न दिए ।
‘सहरी विकास मन्त्रालयले विभागमार्फत भूकम्प प्रभावित भनेर कर्मचारीलाई त्रिपाल बाँडेपछि एकाएक भीड बढेको हो,’ विभागका एक कर्मचारीले भने, ‘प्रभावितको कुनै मापदण्ड थिएन, परिपयपत्रको फोटोकपी बुझाउने जो-कोहीलाई त्रिपाल बाँडिएको छ ।’
त्रिपाल पाउनेको कुनै नामावली नराखेकाले एकै जनाले ३र४ वटासम्म लगेको एक कर्मचारीले जानकारी दिए । भूकम्प प्रभावितका लागि आएको त्रिपाल शक्ति र प्रभाव भएका जो-कोहीले लगिदिँदा वास्तविक पीडित मर्कामा परेका छन् ।
त्रिपालको असमान वितरणका कारण आवश्यक संख्यामा देशभित्र त्रिपाल भित्रिए पनि वास्तविक पीडितसम्म पुग्न सकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्प प्रभावित जिल्लामा बुधबारसम्म कुल ४ लाख ८९ हजार त्रिपाल बाँडिएको छ ।
गृहमै ४ लाख १६ हजार भवन तथा घरमा भूकम्पले क्षति पुर्याएको तथ्यांक रहेको कान्तिपुर दैनिकले छापेको छ ।
मंगलबारको दोस्रो शक्तिशाली झड्काका कारण थप घर भत्किएकाले करिब ६ लाख परिवार घरबारविहीन भएको देखिन्छ ।
हरेक परिवारलाई एउटाका दरले बाँड्ने हो भने करिब ६ लाख त्रिपाल तत्काल आवश्यक देखिन्छ ।















प्रतिक्रिया