काठमाडौं, २९ वैशाख । नेपाल टेलिकम र नेपाल रेडक्रस सोसाइटीका बीचमा प्राकृतिक विपत पूर्वतयारी तथा न्युनीकरणका लागि आवश्यक सामाग्री जडान तथा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महामन्त्री देव रत्न धाख्वाले सोमबार हस्ताक्षर गरे।सम्झौता अन्तर्गत आइएफआरसीको सहयोगमा जडान गरिएको टेरोलोजी इमरजेन्सी रिफिल एप्लीकेसन सिस्टमले प्राकृतिक विपत्तीको सम्भावना भएका वा विपत्तीमा परेका नेपाल टेलिकमका उपभोक्ताको मोवाइलमा आवश्यक जानकारी सहितको एसएमएस पठाउने छ। बाढी–पहिरो, खाद्य असुरक्षा, विभिन्न प्रकारका रोगब्याधी, भूकम्प आदिसँग सम्बन्धित सूचना गृह मन्त्रालय तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा तयार गरी विपत्ती हुनु अगावै, विपत्तीको समयमा र विपत्ती पश्चात पठाइने छ।प्रबन्ध निर्देशक आचार्यले विपतको समयमा उपयुक्त सूचना आवश्यक हुने र यो सम्झौता पछि सो आवश्यकता पूरा हुने विश्वास ब्यक्त गरे। नेपाल रेडक्रस सोसाइटीका महामन्त्री धाख्वाले सम्झौतासँगै नेपाल रेडक्रस सोसाइटी नेपाल टेलिकमका साथ सामाजिक कार्यमा संलग्न हुन पाएकोमा खुसी ब्यक्त गर्दै यसबाट सोसाइटीको जिम्मेवारी बढेको बताए।
अन्तराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टका नेपालस्थित प्रतिनिधि रित्भा लाह्ती ले हालै गएको विनाशकारी भूकम्पका कारण पीडित बनेका नेपाली जनताका लागि यो प्रणाली प्रभावकारी हुने विश्वास ब्यक्त गरिन्। नेपाल टेलिकम, व्यापार व्यवस्थापन विभागका नायब प्रबन्ध निर्देशक सुभाषचन्द्र साहले यो प्रणालीको संचालनबाट कम्पनीका जीएसएम मोवाइल फोनका ग्राहकले निःशुल्क रुपमा प्राकृतिक विपत्तीको सूचना प्राप्त गर्ने बताए। विनाशकारी भूकम्प पश्चातको राहत तथा उद्धार कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न समेत यसको उपयोग गरिने उनले जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया